विरेन्द्रभक्तले पाँचौं पटक जिब्रो छेडाए

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ११ असोज । मध्यपुर थिमि बालकुमारीका ३९ वर्षीय विरेन्द्रभक्त गजु श्रेष्ठले लोप अवस्थामा पुगेको थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिँदै पाँचौ पटक जिब्रो छेडाएका छन् । २०६३ देखि रोकिएको जात्रा ११ वर्षपछि २०७४ मा वीरेन्द्रभक्त श्रेष्ठले नै जिब्रो छेडाएपछि जात्रा सम्पन्न भएको थियो । उनै वीरेन्द्रभक्तले २०७९ मा दोस्रो, २०८१ मा तेस्रो र यसपटक पुनः इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ (असोज १० गते शनिबार) जिब्रो छेडाएका छन् ।

२०७५ मा भने बालकराम श्रेष्ठले जिब्रो छेडाएपछि कोभिड १९ का कारण रोकिएको थिमिको जिब्रो छेड्ने जात्रा २०७९ मा विरेन्द्रभक्तले नै निरन्तरता दिएका थिए । २५ वर्षदेखि लोप भएको थिमिको जिब्रो छेड्ने जात्रालाई मध्यपुर थिमि चोडेका ६६ वर्षीय कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा गरी १० तीनपटक जिब्रो छेडाए । त्यसको ११ वर्षपछि विरेन्द्रभक्तले छेडाएका थिए ।
मध्यपुर थिमिकै बोडेमा बिस्केट जात्राको अवसरमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ । बोडेको जिब्रो छेड्ने जात्राले निरन्तरता पाइरहेको छ भने, थिमिको जिब्रो छेड्ने जात्राले निरन्तरता पाएको देखिँदैन । थिमिमा नेपाल संवत् अनुसार इन्द्रजात्राको भोलिपल्ट मनाइन्छ ।

थिमिमा इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्ल पूर्णिमाको साँझ जिब्रो छेड्ने जात्रा मनाउने चलन छ । जात्रा आर्थिक अभावले लोप भएको स्थानीय बासिन्दाको गुनासो छ । ‘थिमिको प्रसिद्ध जिब्रो छेड्ने जात्रा आर्थिक अभावले लोप भएको हो,’ येयाँ पुन्हीया मेप्वा खनेगु जात्रा व्यवस्थापन समितिका कोषाध्यक्ष इन्द्रभक्त गजु श्रेष्ठले भने, ‘जिब्रो जसले छेडाउँछ, जात्रा सञ्चालनको सबै खर्च पनि उसैले जुटाउनुपर्छ । संस्कृति बचाउने नाममा सबै जिम्मेवारी एउटै व्यक्तिले लिन गाह्रो छ ।’ जिब्रो छेड्ने जात्रा सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ भन्दाबढी खर्च हुने उनी बताउँछन् ।

किम्बदन्ती अनुसार प्राचीनकालमा भूतप्रेत, पिशाच, ख्याकले थिमिका मानिसलाई धेरै दुःख दिने गर्थे । उक्त पिशाच पक्रेर जिब्रो छेडी नगर परिक्रममा गरेपछि दुःख दिन छोडेको सम्झनामा जिब्रो छेड्ने परम्परा बसेको स्थानीय बताउँछन् । ‘जिब्रो छेडाउने व्यक्तिले ८ दिन अघिदेखि बालकुमारी मन्दिरमा मु पूजा (मन्दिरको चारैतिर पर्दाले छोपेर कसैले नदेख्ने गरी गर्ने पूजा) गर्ने चलन थियो,’ विरेन्द्रभक्त गजुले भने,‘अन्यत्रभन्दा थिमिको यो जात्रा सञ्चालन अलि अप्ठयारो छ ।’

जात्राको ४ दिन अघिदेखि विभिन्न परिकार बनाएर नगरका मानिसलाई जिब्रो छेडाउने व्यक्तिले नै भोज खुवाउनुपर्ने उनले बताए । जिब्रो छेडाउन थिमिमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गर्नुपर्ने र ८ दिन अघिदेखि एकछाक मात्र खाएर बस्नुपर्ने, पशुपंक्षी छुन नहुने, जिब्रो छेडाउने एक दिन अघिदेखि श्रीमतीको अनुहार हेर्न नहुने उनी बताउँछन् । जिब्रो छेड्ने दिन थिमि लायकुका पःमाहरू गई हनुमानढोका लाय्कु (दरबार) बाट राजाको चिनो (खड्क) लिएर आएपछि मात्र जिब्रो छेडाउने चलन छ ।

तेलमा डुबाइराखेको करिब १ फिट लामो फलामको सियो देवगणको पूजा एवं प्रार्थना गरी भाद्र शुक्ल पूर्णिमाको साँझ दिगु भैरव मन्दिरको डबलीमा जिब्रो छेडाउने चलन छ । जिब्रो छेडाएपछि मानन्धर थरका व्यक्तिहरूले बालेको याःमता (लामो तीनवटा बत्ती) अघि–पछि राखी जिब्रो छेडेको व्यक्तिले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात् महाद्विप बोकेर नगरपरिक्रमा गर्ने चलन छ ।

थिमिमा जिब्रो छेडाउने व्यक्तिको परिक्रमा गर्ने स्थान निश्चित नभएको वीरेन्द्रभक्त गजुले बताए । जिब्रो छेडाएर नगर परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा सियो निकाल्ने र उक्त सियो पूजा गरी मन्दिरकै खम्बामा गाडिन्छ । जात्रा लोप भए पनि पहिले-पहिले जिब्रो छेडाएर निकालेको हजारौं सियो बालकुमारी मन्दिरका चारैतिरको खम्बाहरूमा देख्न सकिन्छ । एकै वर्ष २७ जनाले जिब्रो छेडाएको इतिहास छ ।

प्वाल भएको जिब्रोमा बालकुमारी मन्दिरको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु पर्दैन । जिब्रो छेड्ने व्यक्तिको घरमा आउने सबैलाई जिब्रो छेडाएको भोलिपल्ट पनि दिनभर भोज खुवाउनुपर्ने परम्परा छ । जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ ।

तस्बिर : फाइल ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...