भक्तपुर, ३० भदौ । उपत्यकाको चार गणेशमध्ये जेठो गणेशका रूपमा मानिने भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा खट जात्रा मनाइएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवको अवसरमा सूर्यविनायक नगरपालिका-८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट सुरु भएको रथ जात्रा विभिन्न टोलको परिक्रमा गरी पुनः मन्दिरमा ल्याएर समापन गरिएको छ । सूर्यविनायक क्षेत्र संरक्षण समिति र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको सूर्य विनायक गणेश अर्थात् इनारे गणेद्यो खट जात्रा सम्पन्न भएको सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्य विनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत् पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरी टोलटोलमा परिक्रमा गराइएको छ । गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको छ । गणेश चतुर्थीका अवसरमा मन्दिरमा विशेष पूजाआजा तथा नित्य पूजा सम्पन्न गरिएको छ। श्रद्धालुहरूले गणेश भगवानलाई फूल, अक्षता, दूबो, लड्डु तथा विभिन्न फलफूल अर्पण गरी पूजा तथा दर्शन गरेका छन्। मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको आवतजावत बढेपछि सुरक्षा तथा व्यवस्थापनका लागि स्वयंसेवक र सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ।
गणेश मन्दिरहरुमा भक्तजनको घुइँचो
अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न मंगलबार बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको घुइँचो लागेको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । मंगलबार उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले बताए । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस वर्ष यो पर्व मङ्गलबारकै दिन परेकोले यसको विशेष महत्व रहेको छ । यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ । आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनाका साथ प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा.डा.माधव भट्टराईले जानकारी दिए ।
यस अवसरमा मंगलबार विभिन्न गणेश मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गर्ने कार्यक्रम रहेको उनले बताए। राष्ट्रिय धर्मसभाले २०६५ सालदेखि नै गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेको समितिले जनाएको छ ।







