भक्तपुर, ०८ असोज । जिल्ला प्रशासन कार्यलय भक्तपुरले वर्षाका कारण बाढीपहिरो र डुबानको जोखिम भएका स्थानको पहिचना गरी सम्बन्धित ११ वटा क्लष्टरलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भक्तपुरका हनुमन्ते, मनोहरा, खसाङखुसुङ, महादेव, गोदावरी गडेखोलालगायतमा बहाव बढेर डुबानको जोखिम रहेको भन्दै उद्दार कार्यका लागि तयारी अवस्थामा रहन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल रेडक्रसलगायतका संस्थालाई निर्देशन दिएका छन् । बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य कार्यालय र भक्तपुर अस्पताललाई औषधि उपचारका लागि गैरसरकारी संस्था, भक्तपुर चेम्बर, भक्तपुर उद्योग वाणिज्य संघलाई राहतका लागि तयारी गर्न आग्रह गरेका छन् ।
त्यसैगरि, सम्भावित भारी वर्षा र त्यसबाट हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै भक्तपुरका नदी तथा खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन सशस्त्र प्रहरीले माईकिङ मार्फत आग्रह गरिएकाे छ । सशस्त्र प्रहरी बल गुह्येश्वरी भक्तपुरले मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनाका आधारमा मनोहरा खोला, हनुमन्ते खोला किनारा तथा अन्य विपद् जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन बिहान देखि सतर्क रहन आग्रह गरिएकाे हाे।
भक्तपुरमा हनुमन्ते र मनाेहरा खाेलाका कारण राधेराधे, बालकोट, दिव्यश्वरी जग्गा एकीकरण क्षेत्र, नयाँठिमी, क्यामेरोटार, निकोसेरा लगायतका क्षेत्र डुबानको जोखिममा पर्ने गरेका छन ।







