काठमाडौं, २० भदौ । रसुवा बाढीको ११औं दिनमा आज (शनिबार) दुई जनाको जीवितै उद्धार गरिएको छ । रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार शनिबार ११औं दिनमा उनको माथिल्लो त्रिशूली–१ को अडिट- ४ सुरुङबाट उद्धार गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । उद्धारमा नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोली खटिएका थिए । उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित ब्यारेकमा ल्याइँदै छ ।
यस्तै, शनिबार नै बेत्रावतीमा पनि घरमा पुरिएको एक महिलाको पनि उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका बेत्रावतीबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरिएको हो । १९ नं गुल्मबाट सप्रनि सुमनकुमार बिकको कमाण्डमा खटिएको ९ जनाको टोलीले ४ तले घरको माथिल्लो तलाबाट उनलाई उद्धार गरेको छ ।







