काठमाडौं, ११ मंसिर । बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका विकास निर्माण तथा सेवा प्रवाहका कामको समीक्षा गर्दै आगामी १० वर्षको विकास रणनीति तयार गर्ने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को १८औँ बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गरी प्रदेशको दीर्घकालीन विकास रणनीति तथा गुरुयोजना तयार गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेशका १३ जिल्ला, ११९ स्थानीय तह र सबै वडामा प्रदेश सरकारको उपस्थिति, हालसम्म भएका काम तथा तिनको प्रभाव मूल्याङ्कन गरिने जानकारी दिए ।
प्रदेश स्थापनादेखि हालसम्मका उपलब्धि र कमजोरीको समीक्षा गरी आगामी दशकका लागि प्राथमिकता निर्धारण, रणनीतिक योजना तथा विकास गुरुयोजना तयार गरिने उनले बताए ।
बैठकले भोटेकोसी बाढीबाट बाबु वा आमामध्ये एक अभिभावक गुमाएका बालबालिकालाई समेत अभिभावकत्व ग्रहण गरी अध्ययन तथा व्यवस्थापनको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। यसअघि दुवै अभिभावक गुमाएका बालबालिकालाई मात्रै यस्तो सुविधा दिने व्यवस्था थियो ।
त्यस्तै, स्थानीय तहमा चौथो तहका कर्मचारी पदपूर्तिको बाटो खुलाउन स्थानीय सेवा गठन तथा सञ्चालन ऐन संशोधनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय भएको छ। ऐन संशोधनपछि अहेव, अनमी र असिस्टेन्ट सबइन्जिनियरलगायत प्राविधिक जनशक्ति पदपूर्तिमा सहज हुने प्रदेश सरकारको अपेक्षा छ ।
प्रदेशमा व्यवस्थित बस्ती विकास तथा जग्गा एकीकरणका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित ऐन तर्जुमा गर्ने सैद्धान्तिक सहमति पनि बैठकले दिएको छ। रामेछापको मन्थली नगरपालिका-६ मा निर्माण हुने फोहरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा प्राप्ति प्रक्रियालाई सहज बनाउन आयोजनालाई प्राथमिकताप्राप्त आयोजनाका रूपमा तोक्ने निर्णय गरिएको छ ।
यसैगरी, मालपोत कार्यालयको स्रेस्ता व्यवस्थापनलगायत कार्यका लागि संघीय कार्यालयलाई करिब चार करोड ७० लाख रुपैयाँ उपलब्ध गराउने, प्रदेशका सबै जिल्लामा मासु सुपरिवेक्षक तोक्ने तथा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ ।
खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा कार्यबोझ व्यवस्थापनका लागि एघारौँ तहको एक प्राविधिक पद थप गर्ने तथा विभिन्न मन्त्रालय र प्रदेश निजामती किताबखानामा रिक्त पदको जिम्मेवारी व्यवस्थापनसम्बन्धी निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता केसीले जानकारी दिए ।







