काठमाडौं महानगरमा सुरू भयो जलवायु सप्ताह

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ मंसिर । काठमाडौ महानगरपालिकामा सोमबारबाट जलवायु सप्ताह सुरू भएको छ । मंसिर १३ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रममा सरकारी तथा गैरसरकारी क्षेत्र, निजी क्षेत्र, सामाजिक संघसंस्था, प्राज्ञिक तथा अनुसन्धानकर्ता, बालबालिका, युवा महिला तथा अभियानकर्ता सबैलाई सहभागी गराएर जलवायुका असर न्यूनीकरण तथा जोखिम व्यवस्थापनका लागि कार्यमूलक कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा उद्घाटन गरिएको कार्यक्रममा रिचार्ज काठमाडौँ अभियानको पनि शुभारम्भ गरेको छ । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले, काठमाडौँ महानगरपालिकाले थालेको जलवायुको असर न्यूनीकरण गर्ने अभियानले स्थानीय सवल नेतृत्वको सन्देश दिएको बताएका छन् । ‘रैथाने ज्ञान र सिप पुस्तान्तरण गर्नका लागि समेत कार्यक्रमले भूमिका खेल्नेछ । काठमाडौँको मौलिकता र जीवन्तता बचाउने योगदान गर्नेछ,’ उनले भने।

यस्तै, बागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले, महानगरपालिकाले उठाएको साझा मुद्दामा प्रदेश सरकार सँगै रहेको बताउँदै यस कार्यमा नेपाल सरकारबाट पनि साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
‘भोटेकोशीमा बाढी गएका बेला होस् कि देशका जुनसुकै ठाउँमा विपत्ति परेका बेला होस् । आपत परेका ठाउँका स्थानीय र स्थानीय तहलाई जति दुख्छ हामीलाई पनि त्यत्तिकै दुख्छ । दुःख टाढा परेको हो भनेर हामी चुप रहन सक्दैनौँ’, काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘जलवायु परिवर्तनको असरले नछुने त कोही हुँदैन । गल्ती जसले गरोस् । उत्पन्न परिणाम सबैले भोग्नु पर्छ । यस्ता खराब परिस्थितिसँग बच्न र बचाउन सकियोस् भनेर हामीले महानगरपालिका भएर मात्र होइन । पृथिवीका सन्तानका रुपमा पनि कार्यक्रम आयोजना गरेका हौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले जलवायुका चुनौतीहरु कुनै एक व्यक्ति वा संस्थाले मात्र गरेर सामना गर्न सम्भव नभएको र यसकारण तीनवटै तहका सरकारको प्रतिनिधित्व हुने गरी सहरस्तरीय समाधानका प्रयास खोज्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको बताएका छन् । नेपालमा यस प्रकारको प्रयास पहिलो भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको दाबी छ ।

परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामुहिक प्रयास, सहकार्यको थालनी गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई जलवायु परिवर्तनका चुनौती बारे छलफल गर्ने मात्र नभई त्यसका असरहरुको सामना गर्न तत्काल अवलम्न गर्नुपर्ने कार्य तथा विज्ञानसम्मत् क्रियाकलापलाई समुदायको सहभागितामा प्रारम्भ गर्ने स्थलका रुपमा विकास गर्ने योजना छ ।
‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नीतिगत तथा राजनीतिक नेतृत्व तहमा उच्चस्तरीय संवाद’ का लागि जलवायु गोलमेच आजै सम्पन्न भएको छ । सहरी उत्थानशीलता, जलवायु परिवर्तन र साझा प्राथमिकताका विषयमा महानगरपालिकाका सल्लाहकार एवं वातावरणविद भुषण तुलाधरले सञ्चालन गर्नुभएको गोलमेचमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशिला अधिकारी, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र मुस्ताङ्को घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले क्षेत्रीय, राष्ट्रिय मुद्दा र अन्तराष्ट्रिय मुद्दासँग जोडिएका स्थानीय मुद्दाका विषयमा धारणा राखेका छन् ।
गोलमेचबाट जलवायुबाट परेका विभिन्न संकटमध्ये ५ वटा विषयमा तत्काल सामुहिक प्रयत्न थालनी गर्नुपर्ने निष्कर्ष आएको तुलाधरले बताए । ‘पानीको संकट गाउँ, सहर, हिमाल, पहाड या तराइ जहाँ पनि उत्तिकै चोटिलो छ । यसको व्यवस्थापनमा रैथाने ज्ञान, सिप तथा आधुनिक विधि चाहिएको छ । यो पहिलो हो । दोस्रोमा स्रोत व्यवस्थापन (वित्त, मानव पूँजी, अधिकार)का लागि, तेस्रो समन्वय, साझेदारिता र सहकारिताका लागि, चौथोमा न्याय, सुनुवाई र क्षतिपूर्ति तथा पाँचौँमा दीर्घकालीन योजनामा तत्कालका लागि उच्चस्तरीय राजनीतिक प्रतिवद्धता चाहिएको छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले वातावरणीय व्यवस्थापनका लागि सञ्चालन गर्ने स्वच्छता र सरसफाइका काम तथा फोहरलाई न्यूनीयकरण गर्ने प्रयासका विषयमा प्रस्तुतिकरण गर्दै वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, बहुपक्षीय साझेदारिताबाट नतिजामा पुग्ने प्रयास गरिरहेको उल्लेख गरिन् । ‘जलवायु परिवर्तनको असर घटाउने काम कुनै एक सरकार वा पुस्ताले मात्र गरेर पुग्दैन । त्यसैले सप्ताहका कार्यक्रमले सबैलाई एउटै मञ्चमा ल्याएको छ’, उनले भनिन् ।
कार्यक्रममा इन्स्टिच्युसन अफ हिमालयन रिक्स रिडक्सन कार्यकारी निर्देशक सुरज गौतमले भने, ‘होल अफ द सोसाइटी, होल अफ द गभर्मेन्ट अर्थात् सबै मिलेर काम गर्नुपर्छ भन्ने सन्देशलाई यो कार्यक्रमले अझ बलियो बनाएको छ ।’

सप्ताहको दोस्रो दिन मंगलबार ‘जलवायु वित्त’ विषयमा केन्द्रित हुनेछ । तेस्रो दिन ‘नागरिक विज्ञान तथा सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा केन्द्रित गरिनेछ । चौथो दिनको विषय ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ विषयमा आधारित हुनेछन् । पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ । छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ विषयमा केन्द्रित गरिनेछ र सातौँ तथा अन्तिम दिन ‘जलवायु परिवर्तनका असर घटाउन नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्व’ विषयमा कार्यक्रम केन्द्रित हुनेछ ।

कार्य सप्ताहका क्रममा विभिन्न सार्वजनिक सहभागितामूलक कार्यक्रम पनि सञ्चालन हुनेछन् । नेपाल प्रिमियर लिगसँगको जलवायु साझेदारीअन्तर्गत हरित रङ्गशाला, शून्य फोहरका खेल दिवस तथा खेलमार्फत जलवायु सचेतना अभिवृद्धि गरिनेछ । त्यस्तै, साझा यातायातसँगको सहकार्यमा सार्वजनिक यातायातको प्रयोग, नागरिक विज्ञान र वायु प्रदुषण न्यूनीकरण सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन हुनेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ०८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध...

क्यान्सर र मिर्गौलाका औषधि उपलब्ध गराउन विभागले सार्वजनिक गर्‍यो कम्पनी र सम्पर्क व्यक्तिको विवरण

काठमाडौं, ०८ मंसिर । क्यान्सर र मिर्गौलाका बिरामीले प्रयोग गर्ने अत्यावश्यक औषधि बजारमा अभाव भएको गुनासो बढेपछि औषधि...

जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु

काठमाडौं, ०८ मंसिर । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरबाट जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु गरेको छ...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच वार्ता सक्यो

काठमाडौं, ०७ मंसिर । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज नयाँ...