काठमाडौं, ०८ मंसिर । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बौद्ध भिक्षुणी डोल्माको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको बेलामा विधि प्रक्रियाभन्दा बाहिर रहेर नियुक्ति गरिएको अभियानको दाबी छ । रिट निवेदकमा संगठनका संयोजक सुनिल सिंह, वीरजन विश्वकर्मा र सफलता बोगटीलगायत छन् ।
आनीलाई सरकारले असोज ३१ गते लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । लुम्बिनी विकास कोष ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ ।







