काठमाडौं, ०८ मंसिर । काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभा गृह परिसरबाट जमिन पुनःभरण (रिचार्ज काठमाडौँ) अभियान सुरु गरेको छ । जलवायु कार्य सप्ताहको पहिलो दिन सोमबार कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्य मन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हाल्दै अभियान सुरु गरेका हुन् ।
प्रणाली उद्घाटन गर्दै कार्यबाहक प्रधानमन्त्री श्रेष्ठले, अभियानलाई काठमाडौंको मौलिक स्वरुपलाई बचाउने कार्यक्रमका रुपमा चर्चा गरेका छन् । ‘रैथाने बोटविरुवाको संरक्षण, रैथाने प्राणी तथा चराचुङ्गीको आवाज, रैथाने बालीको उपलब्धता, हरियाली नदी किनारा, हिटि र राजकुलो प्रणालीको विकासका लागि जमिन पुनःभरण नै दिगो उपाय हो,’ श्रेष्ठले अभियानको प्रशंशा गरे ।
कार्यक्रममा मुख्यमन्त्री थापाले संघ र प्रदेश सरकारबाट स्रोत उपलब्ध गराउने, महानगरपालिकाले प्राविधिक सहयोग गरेर प्रणाली विकास गरेपछि दिगो नतिजा ल्याउन सकिने बताएका छन् । ‘काठमाडौं महानगरले दिएको सन्देशले देशभरि अभियान सुरु हुने अपेक्षा छ,’ उनले भने ।
‘अब गरौँला, कसले के भन्छ, हेरौँला भन्ने समय छैन । पानी नहुँदाका समस्या व्यक्तिव्यक्तिले भोग्नु पर्ने हुन थालेको छ । त्यसैले विचार विमर्शभन्दा काम नै थालेर आफ्नै घरमा जमिन पुनःभरण थालेका छौँ । हामी महानगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालयहरु सबैतिर पुनःभरण प्रणाली बनाउँछौँ ।’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘सरकारी कार्यालयहरुलाई स्थान उपलब्ध गराइदिए हामी रिचार्ज प्रणाली बनाइदिन्छौँ ।’ अभियानलाई काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको हैसियतमा मात्र होइन । साझा पृथ्वीको जिम्मेवार नागरिकको हैसियतमा अभियान थालिएको उनले बताइन् ।
रिचार्ज पिट निर्माणमा महानगरपालिकाले गरिरहेको कामका विषयमा जानकारी दिँदै सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले भने, ‘रिचार्ज प्रणाली निर्माण गर्न गएको वर्ष १ करोड रुपियाँ विनियोजन गरिएको थियो । यस कार्यका लागि भएको सार्वजनिक खरिद प्रक्रियाबाट करिब ८० लाख रुपियाँमा निर्माण पक्षसँग सम्झौता भएको छ । यस योजनाबाट मागका आधारमा सरकारी कार्यालय तथा सरकारी जग्गामा प्रणाली बनाइनेछ ।’
विभागीय प्रमुख राईका अनुसार प्रणाली बनाउँदा २० फिट गहिरो तथा २ फिट ६ इञ्चदेखि ४ फिटसम्मको गोलाइ खाल्टो बनाएर रिङ राखिनेछ । उक्त गहिराईमध्येको तल्लो ९ फिट भागमा ढुङ्गा (बोल्डर) राखिनेछ । त्यसमाथिको ७ फिटको भाग २० देखि ४० एमएमसम्मका एग्रिगेट राखिनेछ । त्यस माथिको १ फिटमा बालुवा (स्याण्ड) राखिनेछ । त्यसमाथि पानी छान्नका लागि कपडा अर्थात् जिओटेक्टाइल राखिनेछ । त्यसमाथिको ३ फिट खाली राखेर त्यसमाथि कभर राखिनेछ ।
महानगरपालिकाले २ फिट ६ इञ्च व्यास भएका ४६ वटा, ३ फिट व्यास भएका ४६ वटा र ४ फिट व्यास भएका ४६ वटा गरी १३८ वटा रिचार्ज पिट निर्माण गर्ने लक्ष्य राखेको छ ।







