भक्तपुर, १५ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताएका छन् । आइतबार मध्यपुर थिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताएका हुन् । उनले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको प्रमुख दायित्व रहेको उल्लेख गरे ।
मुख्यमन्त्री थापा मगरले अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीहरूले प्राप्त गरिरहेको सेवाप्रवाहबारे जानकारी लिएका छन् । उनले अस्पतालको समग्र अवस्था, सेवा प्रवाहमा गर्नुपर्ने सुधार तथा स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने विषयमा जानकारी लिनुका साथै सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिएका छन् । अनुगमनपछि मुख्यमन्त्री थापा मगरले प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा स्वास्थ्य संस्थाहरू जिम्मेवार हुनुपर्ने बताएका छन् ।







