काठमाडौं, १४ कार्तिक । प्रेस काउन्सिल नेपालले समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जारी गरेको प्रेस विज्ञप्तिमा दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिइनु गम्भी आपत्तिको विषय भएको उल्लेख छ ।
“पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिएको नदेखिएको तथा अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी पत्रकारहरूलाई नियन्त्रणमा लिइनु गम्भीर आपत्तिको विषय हो,” काउन्सिलले भनेको छ । यसले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
“काउन्सिल नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।







