भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ। सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नं. १० ले वडा नं. ९ नङ्खेललाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै चित्तपोलले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल खेलमा वडा नं. १० ले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरेको थियो। उपविजेता वडा नं. ९ नङ्खेलले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।
त्यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा वडा नं. ४ दधिकोटले वडा नं. ८ सिपाडोललाई ४-१ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। तेस्रो भएको दधिकोटले २५ हजार रुपैयाँ प्राप्त गर्दा सान्त्वना स्थान हासिल गरेको वडा नं. ८ सिपाडोलले १० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि चित्तपोलका खेलाडीहरूको वर्चस्व रह्यो। वडा नं. १० का युग देउजा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। सोही वडाका रोजित खत्री सर्वाधिक गोलकर्ता बने भने अश्विन देउजाले उत्कृष्ट गोलरक्षकको उपाधि हात पारे।
त्यस्तै, उपविजेता वडा नं. ९ नङ्खेलका टोली प्रशिक्षक दिपेश खत्री प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषित भए।







