मकवानपुर, १६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्व वन तथा वातावरण संरक्षणका प्रमुख चुनौती भएको बताएका छन् । वन विज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसद्वारा शुक्रबार आयोजित ‘फर्स्ट ग्राजुएट कन्फ्रेन्स’को उद्घाटन गर्दै मुख्यमन्त्री थापामगरले वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्त्वपूर्ण आधार रहेको बताए ।
वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रुपमा उपयोग गर्नुपर्ने उनले बताए । ‘शिक्षा र ज्ञानलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ’, मुख्यमन्त्री थापामगरले भने, ‘वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा जोड्न आवश्यक छ ।’
मुख्यमन्त्रीले पछिल्लो समय जलवायु परिवर्तनलगायतका चुनौतीको सामना गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने बताए । ‘वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ। सबै पक्षको ज्ञान, अनुभव र प्रविधिलाई एकीकृत गरेर मात्रै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने ।







