ख्वप आदर निकेतन उद्घाटन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनयापनमा जोड

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०४ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर नगरपालिका-६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको ख्वप आदर निकेतनको आइतबार उद्घाटन भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले एक कार्यक्रमबीच ख्वप आदर निकेतनको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै बिजुक्छेंले ज्येष्ठ नागरिकको हेरचाह, सम्मान र मानसिक स्वास्थ्यका लागि यस्तो सेवा महत्वपूर्ण रहेको बताएका छन् । अध्यक्ष बिजुक्छेंले ज्येष्ठ नागरिकहरूमा उमेर बढ्दै जाँदा स्मरणशक्ति कमजोर हुँदै जाने भएकाले उनीहरूलाई विशेष हेरचाह आवश्यक रहेको बताए। ज्येष्ठ नागरिकलाई एक्लै राख्न नहुने उल्लेख गर्दै उनले उचित हेरचाह र सामाजिक वातावरण प्रदान गर्न सके उनीहरूको आयु तथा जीवनको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने धारणा राखेका छन् ।

लामो समयदेखि आदर निकेतन सञ्चालन गर्ने उद्देश्य रहेको र आज आएर उक्त उद्देश्य पूरा भएको उल्लेख गर्दै बिजुक्छेंले ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापनका लागि जोड दिनुपर्ने बताएका छन् । घरमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकका लागि स्थानीय तहले ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी निरन्तर सेवा प्रदान गर्नुपर्नेमा जोड उनको जोड छ । बालबालिकाको हेरचाहका लागि विद्यालय, किन्डरगार्डेन तथा शिशु स्याहार केन्द्रहरू धेरै रहे पनि ज्येष्ठ नागरिकको संरक्षण र हेरचाहका लागि आवश्यक केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । ज्येष्ठ नागरिकलाई सहारा र सम्मानसहितको सेवा उपलब्ध गराउन वडा तहबाटै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आदर निकेतनमा भर्ना भएका ज्येष्ठ नागरिकहरूलाई फूलमाला लगाएर स्वागत गरेका छन्। उनले आदर निकेतनमा पोषणविज्ञको सल्लाहअनुसार खाना खुवाउने, टेलिभिजन, परम्परागत खेल, भजन–कीर्तनलगायतका गतिविधि सञ्चालन गरिने जानकारी दिए । नगर प्रमुख प्रजापतिका अनुसार आदर निकेतनमा शुद्ध पिउने पानी, नर्सिङ स्टेसन तथा स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ र आदर निकेतनको सेवा नगरपालिकाका अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने योजना छ । ‘जनताको साथ र सहयोगबाट जुनसुकै काम पनि सफल हुन्छ भन्ने उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गरिरहेको छ,’ उनले भने ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप आदर निकेतन निर्माणमा जनताको जनश्रमदानसमेत रहेको उल्लेख गर्दै यसलाई महत्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताएका छन्। उनले स्थानीय सरकारले जनताको सेवामा गर्न सक्ने कामको उदाहरण भक्तपुर नगरपालिकाले प्रस्तुत गरिरहेको धारणा राखे । सांंसद गोसाईले महिला तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास हुनुपर्ने बताउँदै बालबालिका र ज्येष्ठ नागरिकलाई एकअर्कासँग घुलमिल हुने वातावरण बनाउनुपर्नेमा जोड दिए। बालबालिका र ज्येष्ठ नागरिकलाई सँगै राख्दा मानसिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जन्मदेखि मृत्युसम्मका संस्कार तथा सामाजिक आवश्यकतासँग जोडिएका विषयमा स्थानीय सरकारले जिम्मेवारी लिने नीति नगरपालिकाले अपनाएको जानकारी दिइन् । ज्येष्ठ नागरिकको स्वास्थ्य, सम्मानित र सुरक्षित जीवनयापन सुनिश्चित गर्न आदर निकेतन सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उपप्रमुख जोशीले सामाजिक आवश्यकताहरू परिपूर्ति गर्न नगरपालिका निरन्तर लागिरहेको बताइन् ।

कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले भक्तपुर नगरपालिकाले नगरको समग्र विकासका लागि गर्दै आएका काम प्रशंसनीय रहेको बताएका छन्। उनले आदर निकेतनलाई ज्येष्ठ नागरिकहरू खुसीसाथ बस्न सक्ने वातावरणका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्।
बदलिँदो सामाजिक परिवेशमा बालबालिका र ज्येष्ठ नागरिकहरू एक्लिँदै गएको उल्लेख गर्दै डा. मल्लले ख्वप अस्पतालले ज्येष्ठ नागरिकलाई केन्द्रित गर्दै श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको जानकारी दिँदै अस्पतालमा एमआरआई खरिद प्रक्रिया सुरु भइसकेको बताए।
भक्तपुर नगरपालिका-६ का वडाध्यक्ष हरिराम सुवालले परिवारमा हेरचाह गर्ने कोही नभएका ज्येष्ठ नागरिकहरूको संरक्षण तथा हेरचाहका लागि ख्वप आदर निकेतन आवश्यक रहेको बताए। उनले आदर निकेतनमा भजन, मनोरञ्जन तथा बौद्धिक गतिविधिसँग साक्षात्कार गराउनेलगायतका कार्यक्रम सञ्चालन हुने बताएका छन् ।
नगरपालिकाकी कार्यपालिका सदस्य रोशनमैया सुवालले ख्वप आदर निकेतनमा भर्ना हुनका लागि हालसम्म २० जना ज्येष्ठ नागरिकले नाम दर्ता गरिसकेको जानकारी दिइन् । उनका अनुसार आदर निकेतनको सेवा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। आदर निकेतनमार्फत ज्येष्ठ नागरिकलाई सुरक्षित वातावरण, आवश्यक हेरचाह, स्वास्थ्य सेवा तथा सामाजिक सहभागिताको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...