काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास गर्ने तयारी अघि बढाइएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बताएका छन्। काठमाडौं-हेटौंडा जोड्ने भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्ड अर्को दीर्घकालीन वैकल्पिक सडकको रूपमा विकास गर्ने लक्ष्यसहित बिहीबार मुख्यमन्त्री थापामगर, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसी, सचिव इश्वरचन्द्र मरहठ्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामासहितको टोलीले यस सडकखण्डको स्थलगत निरीक्षण गरी तत्काल वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याउने कार्य सुरु गरेको जनाएको छ।
मुख्यमन्त्री थापामगरका अनुसार चालु आर्थिक वर्षमै प्रदेश सरकारले यस सडकका लागि बजेट समेत विनियोजन गरिसकेकाले अब यो बाटो द्रुत गतिमा सुचारु हुने निश्चित भएको छ। ‘कृष्ण भिरमा गएको पहिरोका कारण सङ्घीय राजधानी काठमाडौं जान धेरै नै गार्हो भएको छ । यो वैकल्पिक सडकले त्यसको १००% पूरा गर्न नसकेपनि हेटौँडा-काठमाडौँको यात्रालाई विकल्पसहित सुरक्षित र सहज बनाउनेछ,’ मुख्यमन्त्री थापामगरले भने ।
तस्बिर : मुख्यमन्त्रीको सामाजिक संजाल






