काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार सोमबार एउटै घरभित्र २४ वटा शव फेला परेको हो।
शव फेला परेको घरमा आज पनि खोजी कार्य भइरहेको उनले जानकारी दिए। उक्त घरमा भएका शवका विवरण आज आउने छ। होटल वा गेस्ट हाउस जस्तो देखिने उक्त घर कसको भन्ने जानकारी नआएको उनको भनाइ छ।
भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहानसम्म ९८७ शव फेला परेको छ भने, ३ हजार ९१६ सम्पर्कबिहीन छ । प्राधिकरणका अनुसार २१ हजार ११ जना सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) ले खोजी कार्य जारी राखेका छन्। रसुवाको विभिन्न स्थानमा भएको जलविद्युत आयोजनामा भएका सुरुङमा फसेकाहरूको उद्धार कार्य अझै जारी छ ।






