काठमाडौं, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ । रास्वापाको पार्टी कार्यालय बनस्थलीमा आइतबार भएको उक्त भेटवार्तामा उनीहरुबीच भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम कारबाही सम्बन्धमा छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
सो अवसरमा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिएका छन् । यति बेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा आफूहरु सचेत रहेको लामिछानेको भनाई छ ।
सभापति लामिछानेले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटका क्रममा मुख्यमन्त्री थापाले विपद्को उद्धार र राहतमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्दै प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएकामा दुःख व्यक्त गर्दै तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको थापा मगरको भनाई छ। प्रभावित क्षेत्रमा उचित राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको गुनासो मुख्यमन्त्री थापाले गरेका छन् ।
जलवायु परिवर्तनको असर लामो समयसम्म रहने भएकाले खोला/नदी किनारका बस्तीहरु स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढङ्गबाट काम गर्नुपर्ने मुख्यमन्त्री थापाको भनाई छ ।
यसअघि मुख्यमन्त्री थापा मगरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकालसँग भेट गरेका थिए ।






