काठमाडौं, १३ भदौ । रसुवामा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि बागमती प्रदेश सरकार नागरिकको जीवनरक्षा र राहत कार्यमा पूर्ण रूपमा परिचालित भएका छन् । विपद्लगत्तै बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकपछि मुख्यमन्त्रीसहितको टोली उद्धार र राहतको कमान्ड सम्हाल्न आफैँ स्थलगत रूपमा खटिएका छन् ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रदेश सरकारले मृतकका परिवारलाई प्रति मृतक २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने, गोसाइँकुण्ड, कैलाश तथम अन्य धार्मिक यात्राका क्रममा रही अलपत्र परेका तीर्थयात्रीहरुको सुरक्षित आवागमनका लागि नि:शुल्क बस सेवा उपलब्ध गराउने, उद्धार तथा राहत कार्यलाई तीव्रता दिन रसुवा र नुवाकोटलाई १-१ करोड तथा धादिङ र चितवनलाई ५०-५० लाख रुपैयाँ गरी कुल ३ करोड रुपैयाँ स्थानीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको बागमती प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीले जानकारी दिए ।
अस्थायी बास, स्वास्थ्य शिविर र निःशुल्क बस सेवा बाढीबाट घरबारबिहीन भएका नागरिकहरूका लागि नुवाकोटको विदुरका ४ स्थानमा अस्थायी आश्रयस्थल र खानाको व्यवस्था मिलाइएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिएका छन् । घाइतेहरूको उपचारका लागि ४ वटा हेल्थक्याम्प स्थापना गरी स्वास्थ्यकर्मीको टोली निरन्तर खटिएको उनी बताउँछन्। यस्तै, अलपत्र परेका यात्रु तथा धार्मिक तीर्थयात्रीहरूलाई लक्षित गरी धुन्चे-महावीर, चौगटे-काठमाडौँ र विदुर-काठमाडौँ खण्डमा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। हेटौँडास्थित गोदामबाट त्रिपाल, टेन्ट र गैरखाद्य सामग्रीसहितका राहत टोली प्रभावित क्षेत्रमा पठाइसकिएको मुख्यमन्त्री थापामगरले बताए । सडकमार्गका ४० भन्दा बढी पुलमा क्षति पुगेपछि आवतजावत ठप्प बनेकाले वैकल्पिक रूपमा बेलिब्रिज, झोलुङ्गेपुल र तुइन निर्माणका लागि सम्भाव्यता अध्ययन र द्रुत निर्माण अघि बढाइएको जनाएको छ। नुवाकोटको छहरे, चौगडा, बाहुनबेशी, नर्जामण्डप, लच्याङ्, सरमथली पार्टीखर्क, हिल्चेकको पुल, भोर्ले, जीरो किलो, पासाङ्ल्हामु राजमार्ग हुँदै धुन्चे जोड्ने वैकल्पिक मार्ग खुलाउन कार्य तीव्र पारिएको छ।
उद्धार कार्यलाई व्यवस्थित बनाउन प्रदेश सरकारले यातायात, पूर्वाधार, स्वास्थ्य, राहत वितरण र हवाई उद्धार गरी ५ वटा विशेष विषयक्षेत्रगत कार्यदल गठन गरेको छ।
कर्मचारीलाई बिदामा पनि खटिन निर्देशन प्रदेश सरकारले प्रभावित क्षेत्रमा खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अर्को आदेश नभएसम्म कार्यस्थल नछाड्न र सार्वजनिक बिदाका दिनमा पनि निरन्तर सेवामा रहन कडा निर्देशन दिएको छ। कार्यलाई थप प्रभावकारी बनाउन हेटौँडाबाट थप जनशक्ति र १० जना अधिकृतहरूलाई समन्वयका लागि पठाइएको छ।
बागमती प्रदेश सरकारले यस कठिन घडीमा धैर्य रहन नागरिकहरूलाई अपिल गर्दै मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोषमा आवश्यक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका संघ-संस्था र सहयोगी हातहरूलाई हार्दिक अनुरोध गरेको छ।






