काठमाडौं, २८ साउन । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी जनआस्था साप्ताहिका सम्पादक हुन् ।
हाल उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ । बिहीबार अदालतमा उपस्थित गराउने तयारी छ ।
उपसभामुख रुवीकुमारी ठाकुरले पनि बुधबार जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन् । उनको उजुरीमा सामग्रीमा उल्लिखित आरोप र दाबीको स्रोत तथा प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरिएको थियो ।






