गथांमुग: च:ह्रे पर्व मनाइँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २६ साउन । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मंगलबार नेवार समुदायमा घर शान्तिको कामना गर्दै गथांमुग: च:ह्रे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । गथांमुग:  च:ह्रे पर्व नेवारहरुको मौलिक पर्व मध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्री चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो ।
यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन् ।

नेवार समुदायले काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीबिरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राखी बौ वाय् ज्या अर्थात भूत मन्छाउने कार्य गर्दछन् । बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ ।
बौ वाय् ज्या सँगसँगै घर घरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीन खुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीहरूले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

त्यसैगरी, साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोबोटोमा लगेर राख्ने) गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास (नेवार समुदायको मानिस मर्दा उसको लुगा फाल्ने ठाउँ) मा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।
गथांमुग:  च:ह्रे अवसरमा भक्तपुर नगरका टोलटोलमा नर्कट र छवालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोक चोकमा ठड्याएर राखिन्छ । सो आकृतिसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगात अर्थात पैसा उठाउन लगाइन्छ । साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवाकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको खोलामा लगेर जलाइन्छ ।
गथांमुग: च:ह्रेलाई किसानहरुले “सिनाज्या ब्यंकेगु” (रोपाईं कार्य सम्पन्न भएको) र चाडपर्व सुरुआत भएको सङ्केत पर्वका रूपमा पनि लिने गर्छन् । नेवार समुदायमा रोपाई सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा “सिनाज्या ब्यंकेगु” पर्व मनाइने गरिन्छ ।
नेवार समुदायमा गथंमुग:  च:ह्रे पर्व प्राचीन कालदेखि प्रचलनमा रहेको इतिहासविद् प्रा . डा.पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने तथा व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने उनले बताए ।
कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारत कालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछ । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रूप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् डा.श्रेष्ठले बताए ।
गथांमुग:  च:ह्रे पर्वसँगै नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गरिने विभिन्न भैरव नाच, व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत गथांमुग: मै सुरु गरिन्छ । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै  दिनबाट मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । 

फाइल फोटो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...