भक्तपुर, २४ साउन । प्राचीन कला, तान्त्रिक परम्परा र सांस्कृतिक समृद्धिका लागि प्रसिद्ध भक्तपुरको मध्यपुर थिमिमा यस वर्ष २०८३ सालको गाईजात्राको भोलिपल्ट बेलुकादेखि ऐतिहासिक तथा आनुष्ठानिक ‘परम्परागत थिमि भैलः’ (भैरव नाच) प्रदर्शन हुने भएको छ। श्री गणेश सांस्कृतिक समाज (कुम्हाननी, तुलंननी, मध्यपुर थिमि-५) को आयोजनामा हुने यो प्रदर्शन भैलः नाच यस वर्ष आगामी भाद्र १४ गतेदेखि १७ गतेसम्म चार रात मध्यपुर थिमि नगरका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थानहरूमा यो नाच नचाइने गरिन्छ।
तान्त्रिक विधि र पौराणिक पृष्ठभूमि
नेपाल मण्डलको सांस्कृतिक पहिचानसँग जोडिएको यो मुकुन्डो नाच हिन्दू र बज्रयान बौद्ध परम्पराको अनुपम संगम मानिन्छ। तान्त्रिक विधिबाट मुकुन्डोमा जीवन्यास (प्राण प्रतिष्ठापन) गरी नचाइने यस नाचले प्राचीन कालमा नगरमा फैलिएको भूतप्रेत, लाखे र पिसाचको भयबाट मुक्ति दिलाएको जनश्रुति छ। नगरबासीको रक्षा र शान्तिका लागि सुरु गरिएको यो परम्परा आज मध्यपुर थिमिको अमूल्य अमूर्त सांस्कृतिक निधि बनेको छ।
प्रजापति समुदायद्वारा निरन्तरता दिइँदै आएको यो नाच मल्लकालदेखि नै सुरु भएको अनुमान छ। विक्रम संवत् १९९७ देखि प्रजापति समुदायले यसलाई संस्थागत र निरन्तर रूपमा सञ्चालन गर्दै आएको लिखित दस्तावेजहरूले देखाउँछन्।
नाचका मुख्य विशेषता र देवगणहरू
परम्परागत थिमि भैलःमा कुल ३२ तालमध्ये हाल प्रचलित २७ तालहरू विशेष स्थान अनुसार बजाइन्छ। नाचका क्रममा ‘भैलः खायगु’ (भैरव जाग्ने) प्रक्रिया प्रमुख आकर्षण मानिन्छ, जहाँ देवगणहरू ३, ४ घण्टासम्म पनि उग्र रूपमा जाग्ने गर्दछन् ।
यस नाचमा ५ जना मुख्य देवगणहरूको सहभागिता रहन्छ:
ज्यापुंगःचा (हरिसिद्धी): साना उमेरका बालक, जसले कपासको बियाँ (ज्यापू) ले छातीमा हानेर उग्र रूप लिएका भैरव र दागीलाई शान्त पार्छन्।
न्हापा भैलः (चण्डिका/दिगु भैलः): डरलाग्दो ठूलो मुकुन्डो र हातमा खड्ग बोकेका पहिलो भैरव।
लिपा भैलः (बटुक भैरव): बालकुमारी परिसरको भैरवको प्रतीकका रूपमा रहने दोस्रो भैरव।
न्हापा दागी (कुमारी): रातो बस्त्र, रक्त वर्ण, डमरु बोकेको बालकुमारीका प्रतीक।
लिपा दागी (महालक्ष्मी): महालक्ष्मीका प्रतीकका रूपमा प्रस्तुत हुने देवगण। यस वर्ष विनिस प्रजापति (ज्यापुंगःचा), विज्ञान प्रजापति (न्हापा भैलः), रिजन प्रजापति (लिपा भैलः), निराजन प्रजापति (न्हापा दागी) र विमल प्रजापति (लिपा दागी) ले देवगणका रूपमा नृत्य प्रस्तुत गर्दैछन्।
हाल सांस्कृतिक समाजको आयोजनामा बाजा तथा नृत्य प्रशिक्षण तीव्र रूपमा भइरहेको छ। आदरणीय गुरुहरू तेजकुमार प्रजापति, मोहनकृष्ण प्रजापति, सन्तबहादुर प्रजापति, हर्षबहादुर प्रजापति, गणेशमान प्रजापति, राजकाजि प्रजापति, विष्णुबहादुर प्रजापति र तेजबहादुर प्रजापतिको मार्गदर्शनमा कलाकारहरूलाई प्रशिक्षित गरिँदै आएको छ।
नाच प्रदर्शन अघि आगामी भाद्र १० र ११ गते ‘अखलेय् ल्हुय्केगु’ (पूर्व अभ्यास) गरिने छ। गाईजात्रा (सापारु) को दिन राति भैलःको अन्तिममा ‘साँज्या’ निकालिने र त्यसपछि भाद्र १४ देखि १७ गतेसम्म विधिवत् रूपमा नगरका विभिन्न डबली तथा टोलहरूमा नाच प्रदर्शन गरिन्छ। तेस्रो दिन गरिने ‘बाँ पूजा’ का दिन भक्तजनहरूलाई गुह्य पूजा कोठामा प्रवेश र पूजाको अनुमति प्रदान गरिन्छ।
आयोजक श्री गणेश सांस्कृतिक समाजका अनुसार हाम्रा मौलिक कला, संस्कृति र तान्त्रिक धरोहरलाई भावी पुस्तामा हस्तान्तरण गर्ने तथा मध्यपुर थिमिको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो नाच आयोजना गरिएको हो। स्थानीय जनता, संस्कृतिप्रेमी तथा आन्तरिक एवं बाह्य पर्यटकहरूलाई यो ऐतिहासिक सांस्कृतिक भैल प्याखः (नाच) अवलोकनका लागि समितिले विशेष आग्रह गरेको छ।
तस्बिर : सचिन बज्राचार्य






