काठमाडौं, १७ साउन । प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोरखाका प्रोशेस गुरुङ, काठमाडौंकी मुना श्रेष्ठ, कञ्चनपुरका जेनित झुकाल र भक्तपुरका कृष्ण नगरकोटी छन्। उनीहरूलाई भीओआईपी सञ्चालनका लागि प्रयोग हुने उपकरण र त्यससँग सम्बन्धित सामग्रीसहित पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए
उनका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको संलग्नता बेटिङ एप्स ‘एनपीआर ७७ क्यासिनो डटकम’, ‘आईएमई ८८ डटकम’ र ‘खल्ती १८८ डटकम’ मा समेत रहेको खुलेको छ । उनीहरूको साथबाट ३७५ थान सिम बक्स (भीओआईपी) डिभाइस, १७ थान ल्यापटप, ६ थान ब्याट्री, ४ थान इन्टरनेट हब, ४ थान यूपीएस, ६२ थान मोबाइल फोन, ७९५ थान एनसेल सिमकार्ड तथा अन्य उपकरण बरामद गरिएको ब्यूरोले जनाएको छ ।






