दोलखा, ०६ साउन । गौरीशंकर गाउँपालिका-९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर) को ड्याम नजिकै अविरल वर्षापछि गएको पहिरोले एक गोठ बगाउँदा एक वृद्ध सम्पर्कविहीन भएका छन् । बुधबार बिहान करिब १ बजे गएको पहिरोले ड्यामका कर्मचारी बस्ने घर पूर्ण रूपमा क्षति पुगेको छ । असुरक्षित स्थानमा रहेका ड्यामका चार जना कर्मचारीलाई बिहान ७:१५ बजे सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका-९ टासिनामका करिब ७३ वर्षीय चस्मान तामाङ (तसमान) को गोठ पहिरोसँगै बगेको छ । गोठमा रहेका ७ वटा बाख्रा, ९ वटा गाई र ३ वटा गोरु समेत बगेका छन् ।
चस्मान तामाङ हालसम्म सम्पर्कबिहिन रहेकोले नेपाल प्रहरी खोजी तथा उद्धारका लागि घटनास्थलमा सक्रिय रुपमा खटिरहेकाे जनाएको छ भने, स्थानीयबासी तथा अन्य सुरक्षा निकायको समेत सहयोगमा खोजी कार्य भईरहेको प्रहरीको भनाइ छ ।
तस्वीर : वडाध्यक्ष ङिमगेली शेर्पा






