भक्तपुर, ३१ असार । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेलाको तयारी पुरा भएको छ । सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित डोलेश्वरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले तयारी गरेको हो ।
समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार, आइतबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । अन्य दिनमा समेत भक्तजनको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको अध्यक्ष बस्नतेले बताए ।
अध्यक्ष धर्मराज बस्नेतका अनसार, मेलालाई भव्य र सभ्य बनाउन १४ वटा उप समिति गठन गरिएको छ । आकस्मिक स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । भजन कृतन, विभिन्न गुरूहरूबाट प्रवचन कार्यक्रम समेत राखिएको अध्यक्ष बस्नेतले जनाकारी दिए ।
असार महिनामा दैनिक पाँच सय भन्दा बढी भारतीय भक्तजन आएकाका कारण साउनमा अझ बढी अर्थात ५० हजारबढी भारतीय भक्तजन आउँने अनुमान गरिएको छ । यसबर्षको आम्दानीबाट डोलेश्वर मन्दिर नजिकै बृद्धाश्रम बनाउने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले बताए ।
सुर्यविनायक नगरपालिका-८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले हरेक वर्ष मनाइदै आएको श्रावणी मेला यस बर्ष आशापुरी महादेवमा पनि मनाइने जानकारी दिए। सरसफाई, बाटाघाटाको व्यवस्था, ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्था सबै मिलाइएको जानकारी दिदै वडाअध्यक्ष बस्नेतले पार्किङ व्यवस्थापन चुनातीपुर्ण भएपनि सडकको एक साइडमा मिलाइएको बताए।
समितिका पदाधिकारी तथा सदस्यले विना पारिश्रमिक काम गरिराख्नु भएको बताउँदै बस्नेतले ११०० को पञ्चामृत लिनेलाई छुट्टै लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइने बताए । ०६६ पछि डोलेश्वर मन्दिर परिसरमा १९ करोडबढीको भौतिक पुर्वाधारका काम भएको जानकारी दिदै वडाअध्यक्ष बस्नेतले २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते नगर प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने बताए ।
मेलालाई व्यवस्थित र शुरक्षित बनाउँन ५५ वटा सिसीटिभीसमेत जडान गरिएको बताउँदै वडाअध्यक्ष बस्नेतले केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताए । पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय धार्मिक पर्यटक आउँनु त्यस्को ज्वलन्त उदाहरण भएको वडाअध्यक्ष बस्नेतको भनाई छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतका अनुसार, मेलालाई थप प्रभावकारी बनाउँन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने भएको छ ।
डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा सर्वसाधारणले भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने व्यवस्था मिलाइएको महासचिव बस्नेतले बताए । मेला शुरु हुने दिन साउन १ गते बिहान ७ बजे चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरुहुने र बागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाबाट श्रावणी मेला कार्यक्रमको शुभारम्भ गरिने महासचिव बस्नेतले जानकारी दिए ।




