हेरिटेज नेपाल न्यूज

फेक रेस्क्यु प्रकरणमा ३३ जनालाई मुद्दा चलाउन सिफारिस

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २ चैत । बिमा रकम हत्याउन पर्यटकको नक्कली उद्धार उडान गरेको घटनामा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सकेर राष्ट्र्रहित प्रतिकूलको कसुर, लिखत, आपराधिक लाभको कसुर र संगठित अपराध गरेको मुद्दामा कारबाही सिफारिस गर्दै आइतबार प्रतिवेदन बुझाएको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले बताए । उनका अनुसार, यो प्रकरणमा १० जना प्रतिवादीहरू पक्राउ परिसकेका छन् भने २३ जनालाई फरार प्रतिवादी कायम गर्दै प्रतिवेदन बुझाइएको छ ।
प्रहरीले यो घटनामा ९४ करोड ८४ लाख ९७ हजार ३ सय ९७ हजार नेपाली रुपैयाँ बिगो मागदाबी गरेको छ । त्यस्तै, विदेशी नागरिकको समेत जाहेरी लिएको प्रहरीले २९ लाख ९८ हजार ८ सय २३ अमेरिकी डलर र १४ हजार ५ सय युरो पनि छुट्टै बिगो दाबी गरेको छ । ‘१ हजार २ सय ४३ पृष्ठभन्दा लामो प्रतिवेदन बुझाएका छौं, बाँकी सरकारी वकिलको कार्यालयबाट अध्ययनपछि मुद्दा दर्ता हुनेछ,’ ब्युरोका निर्देशक केसीले भने, ‘ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, अस्पताल, हेलिकोप्टर कम्पनी, बिमा कम्पनीका स्थानीय एजेन्ट र गाइडको मिलेमतोमा यो अपराध हुँदै आएको अनुसन्धानबाट देखिएको छ ।’
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, नक्कली उद्धार उडान प्रकरणमा चार वटा हेलिकोप्टर कम्पनी जोडिएका छन् । अनुसन्धानको दायरामा परेर प्रतिवेदनमा उल्लेख भएका कम्पनीमा एयर डाइनेस्टी, माउन्टेन हेली, बेस क्याम्प (मनाङ एयर) र अल्टिच्युड एयर छन् । हेलिकोप्टर कम्पनीले ‘फेक प्यासेन्जर म्यानिफेस्ट’ (नक्कली यात्रुको अभिलेख) तयार गरेर उद्धार कम्पनीलाई पठाउने गरेको पाइएको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।

त्यस्तै, यो प्रकरणमा लाजिम्पाटस्थित सिद्धि इन्टरनेसनल अस्पताल, स्वाकन इन्टरनेसनल अस्पताल र इरा अस्पताल पनि छानबिनमा छन् । प्रहरीका अनुसार, तीन वटा अस्पतालले स्वास्थ्य प्रोटोकलभन्दा बढी बिमा दाबीका लागि पर्यटकलाई भर्ना गर्ने गरिएको पाइएको छ । ‘भर्ना गरिएका पर्यटकहरू होटलमा गई बस्ने वा घुम्न जाने गरेको पनि पाइएको छ, पछि डिस्चार्ज लिन आउने गरेको देखिएको छ,’ एक अनुसन्धान अधिकृतले भने, ‘अस्पतालले बिलको रकम बढाएर स्वास्थ्य बिमा दाबी लिने, उद्धार कम्पनी र ट्रेकिङ कम्पनीसँग बाँडफाँट गरेर लाभ लिने गरेको देखिएको छ ।’
सीआईबीले गरेको अनुसन्धानका क्रममा चार वटा रेस्क्यु कम्पनीका काममा कैफियत देखिएका छन् । ‘माउन्टेन रेस्क्यु सर्भिस, नेपाल चार्टर सर्भिस, हेली अन कल र एभरेस्ट एक्सपिरियन्स एन्ड असिस्टेन्स अनुसन्धानमा तानिएका छन्,’ एक अधिकृतले भने, ‘उनीहरूले हेलिकोप्टरको लागेको खर्च कटाएर बिमाबापतको रकम केही प्रतिशत ट्रेकिङ कम्पनीलाई दिएर बाँकी अवैध कमिसन लिने गरेको पाइएको छ ।’
प्रहरीले घटनामा संलग्न भएको आरोपमा माउन्टेन रेस्क्युका अध्यक्ष ४७ वर्षीय जयराम रिमाल, म्यानेजर ३२ वर्षीय विवेक पाण्डे, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिका अपरेसन प्रमुख ४६ वर्षीय सुवास केसी, सोही कम्पनीका अध्यक्ष एवं नेपाल चार्टर सर्भिस प्रालिका समेत सेयरधनी रहेका ४२ वर्षीय मुक्ति पाण्डेलाई ११ माघमा पक्राउ गरेको थियो । प्रहरीले नेपाल चार्टर्ड सर्भिसका अध्यक्ष ३९ वर्षीय रवीन्द्र अधिकारी र अपरेसन म्यानेजर ३९ वर्षीय विवेक थपलियालाई पनि पक्राउ गरेको थियो ।
प्रहरीले पानोरमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसनका ५० वर्षीय पासाङ शेर्पालाई २७ फागुनमा पक्राउ गरेको थियो भने रोयल होलिडेज एडभेन्चर एन्ड ट्राभल कम्पनीका २८ वर्षीय सन्दीप तिवारीलाई १२ फागुन र विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंहलाई १३ फागुनमा पक्राउ गरेको थियो । प्रहरीले सिद्धि अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई २५ माघमा पक्राउ गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नक्कली उद्धार उडान प्रकरणबारे छानबिन गरेर अनुसन्धान गर्न ६ वर्षअघि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । तर, अनुसन्धान अघि बढेन । सीआईबीले भने दुई महिनाअघि ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, माउन्टेन रेस्क्यु सर्भिस प्रालिबाट उद्धार भएका १ हजार २ सय ४८ मध्ये १ सय ७१ जना, नेपाल चार्टर्ड सर्भिसबाट उद्धार भएका ४ सय ७१ मध्ये ७५ जना र एभरेस्ट एक्सपिरियन्सबाट उद्धार भएका ६ सय १ मध्ये ७१ जना पर्यटकको उद्धार फर्जी देखिएको छ ।
‘एउटा क्षेत्रका लागि अनुमति लिएर अर्कै ठाउँबाट उद्धार गरिएको विवरण पेस, नक्कली कागजात, दुई/तीन जनाको एकै पटक उद्धार गरेर फरक–फरक उद्धारको बिल बनाउने जस्ता काम गरेर यो अपराध भएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बिमा भुक्तानी गर्ने कम्पनीले प्रश्न उठाउँदै पठाएका इमेलसमेत प्राप्त भएका छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

मूलुकभर वर्षा र हिमपात

काठमाडौं, ७ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल...

निर्वाचनमा ३५० बालअधिकार उल्लंघनका घटनन

काठमाडौं, ७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि...

खैरो हेरोईन १३७.४०० ग्राम र चरेश २ केजी ३०० ग्राम सहित ५ जना पक्राउ

काठमाडौं, ७ चैत । लागू औषध ब्यूरो कोटेश्वरले लागु औषध खैरो हेरोइन १३७ दशमलव ४०० ग्राम र...

११ वर्ष कैद भुक्तान गरी छुट्ने बित्तिकै पुन: चोरीको गहना सहित पक्राउ

ललितपुर, ७ चैत । डाँका चोरी मुद्दामा ११ वर्ष कैद भुक्तान गरि छुट्ने बित्तिकै पुन: चोरी गर्ने व्यक्ति...