काठमाडौं, ६ पुस । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।हाल गुह्वेश्वरीवाट ट्रास बेरियर जडान सम्पन्न गरी बागमती नदीका ५ स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, बाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १ स्थान गरी जम्मा ६ स्थानहरूमा ६५ लाखमा ठेक्का सम्झौता भई ट्रास बेरियर राख्ने काम हुँदैछ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्ने समितिले जनाएको छ ।
काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला जस्ता नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापन कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएको हुँदा यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ । ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जल जीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुहरूलाई नदीको बहावलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्र्यास बैरियरको सतह आफैँ तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।



