भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२ साल वैशाखको भूकम्पले क्षतिग्रस्त पछिल्लो समय पुरानो नगरपालिका भवनको रुपमा चिनिएको (थन्थु दरबार) को पुन:निर्माण भक्तपुर नगरपालिकाले मल्लकालीन शैलीमा थालेको हो ।
थन्थु दरबार पुन:निर्माण आयोजना प्रमुख ई.विजयराम कोजुका अनुसार भक्तपुरको ऐतिहासिक थन्थु दरबार पुनःनिर्माणका लागि २०८१ वैशाख २४ बाट थालनी गरेको हो । नगरपालिकाले थन्थु दरबार पुन:निर्माणका लागि क्षतिग्रस्त संरचना हटाउन छुट्टै उपभोक्ता समिति, काठको बुट्टाको लागि छुट्टाछुट्टै २ उपभोक्ता समिति र भवन पुन:निर्माणका लागि छुट्टाछुट्टै २ उपभोक्ता समिति गठन गरी पुन:निर्माण गरिरहेको जनाएको छ । थन्थु दरबारको भूकम्पले क्षतिग्रस्त संरचना भत्काउन नगरपालिकाले १३ लाख ३८ हजार ७४२ रूपैयाँ इष्टमेट गरेपनि ११ लाख ५१ हजार रूपैयाँ मात्र खर्च भएको इन्जिनियर कोजुले जानकारी दिए । उक्त दरबार पुनःनिर्माणको लागि करिब १५ करोड रूपैयाँ इष्टमेट गरिएको गरिएको छ । २७१० दशमलव ९ वर्गमिटर क्षेत्रफलमा बन्ने थन्थु दरबार माटो जोडाई प्रकृयाबाट ५५ झ्याले दरबारसँग सुहाउँदो किसिमले निर्माण थालेको उनले बताए । इतिहासविद्, सम्पदा संरक्षणकर्मीहरूको सुझाव सल्लाह तथा पुरानो फोटाे, स्केचको आधारमा नगरपालिकाले थन्थु दरबार मल्लकालीन शैलीमा निर्माण थालेको हो । हालसम्म थन्थु दरबारको करिब ३० प्रतिशत निर्माणको काम सम्पन्न भएको जनाएको छ ।
थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार वि.सं. २०७२ सालअघि सम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनका रूपमा रहेको थियो । वि.सं २०७४ पछि नगरपालिकाले यहाँको एक सय २४ वटाभन्दा बढी सम्पदाहरू पुनःनिर्माण गरेकामा थन्थु दरबार पुनःनिर्माणको काम छलफलमै सीमित भएको र हाल थन्थु दरबार पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखी नगरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख प्रजापतिले जनाएका छन् । थन्थु दरबारको पुन:निर्माणका लागि प्राविधिक डिजाइन, ड्रईङ्गमा <span;>नगरपालिकाद्वारा संचालित ख्वप कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको रहेको जनाएको छ ।
इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठका अनुसार थन्थु दरबार तत्कालीन राजा जितामित्र मल्लले नेपाल संवत् ७९८ मा बनाउन लगाएका हुन् । ‘यसको प्रकाश पार्ने शिलालेख सोही थन्थु दरबारको उत्तरपूर्वमा रहेको ढुङ्गेधारनको भित्तामा अहिले पनि छ, त्यो प्रमाण अनुसार उनले स्पष्ट रूपमा यस दरबारलाई थन्थु राजकूल भन्नू पर्यो भनी शिलालेखको प्रमाणको आधारमा यो दरबारलाई थन्थु राजकूल भन्नु पर्यो भनेर लेखिएको छ,’ इतिहासविद् डा. श्रेष्ठले भने, ‘थन्थुले माथिल्लो भेग भन्ने बुझिन्छ र अहिलेको भक्तपुर राजदरबार समग्र पूर्वमध्यकालमा “थुथुनिमम्” नामले प्रसिद्ध थियो । त्यो दरबारको नाम समयको प्रवाहमा कहिले विश्रृतको गर्भ कहिले हराउन पुग्यो थाहा छैन तर, महत्त्वपूर्ण कुरा के छ भने त्यही थुथुनिमम् को गर्भमा पछिल्लो समयहरुमा बसन्तपुर/चौकोट/सिंहढोकालगायत यही थन्थु राजकूल नामको दरबार बन्न पुग्यो ।’ राजदरबारको माथिल्लो भेगमा बनेको दरबार हुँदा नेपालभाषामा थन्थु दरबार नाम रहन गएको उनको भनाइ छ । त्यही थन्थु दरबारको दक्षिणपट्टीको एक भाग अहिलेको विश्व प्रसिद्ध ५५ झ्याले दरबार हो । ५५ झ्याले दरबारको अध्ययन-अनुसन्धानका क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।
नेपाल संवत् ८०२ मा गएको भूकम्पले क्षतिग्रस्त भएको थन्थु दरबार पछि ‘नियोक्लासिकल’ (अर्ध युरोपियन शैली) मा बनेको देखिन्छ । भक्तपुर नगरपालिकाले विज्ञहरूको सल्लाह बमोजिम, पुरानो चित्र, ड्रइङ्गको आधारमा मल्लकालीन स्वरूपमा पुनःनिर्माण थालेको छ । नगरपालिकाले २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरू विज्ञहरूको सुझाव र प्रमाणको आधारमा मौलिक शैलीमा पुनःनिर्माण गर्दै आएको छ ।

