भक्तपुर, ०२ मंसिर । ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले २०८३ साल मंसिर १ गते प्रकाशित गरेको २०८३ असोजमा सञ्चालन भएको प्रमाणपत्र तह नर्सिङ तेस्रो वर्ष परीक्षामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानअन्तर्गत नर्सिङ विषयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
प्रकाशित नतिजाअनुसार परीक्षामा सहभागी ४० जना विद्यार्थी नै उत्तीर्ण हुन सफल भएका छन् । उत्तीर्ण सबै ४० जना विद्यार्थीमध्ये ३६ जनाले विशिष्ट श्रेणी हासिल गरेका छन् ।
नतिजामा कृति थापा श्रेष्ठले ९०.७३ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी, आयुषा तुकंबन्जारले ९०.६४ प्रतिशत अंकसहित दोस्रो र कोमल पराजुलीले ९०.२७ प्रतिशत अंकसहित तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
परीक्षाफलअनुसार ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीको संख्या ४ जना रहेको छ भने, ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी ३२ जना रहेका छन् । त्यस्तै, ८० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको संख्या ४ जना रहेको छ ।
शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुनुका साथै धेरै विद्यार्थीले विशिष्ट श्रेणी हासिल गर्न सफल हुनुले ख्वप बहुप्राविधिक अध्ययन संस्थानको शैक्षिक गुणस्तर र नर्सिङ शिक्षामा हासिल गरेको उपलब्धिलाई प्रतिबिम्बित गरेको छ ।







