काठमाडौं, २३ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर नजिकै खसेको पहिरो हटाउन अझै समय लाग्ने भएको छ। सोमबार बिहान ५ बजे यहाँ सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द भएको छ। दुवैतर्फका गाडीहरू बिहान पाँच बजेदेखि सडकमा अडिएका छन्।
बिहान १० बजेसम्म पहिरो हटाइसक्ने गरी काम भए पनि ठूलो पहिरो गएका कारण पहिरो हटाउन अझै दुई घण्टा भन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो हटाउन पाँच वटा जेसिबी परिचालन गरिए पनि बिहान ११ बजेसम्म बाटो खुलाइन सकिएको छैन।
आइतबार बिहान पनि यहाँ पहिरो खस्दा केहीघण्टा सडक अवरुद्ध भएको थियो। आइतबार खसेकै ठाउँमा सोमबार आज झन् ठूलो पहिरो खसेको हो। चाडपर्वको बेला सडक अवरुद्ध हुँदा यात्रुले भने सास्ती पाएका छन्।







