भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्राथमिक तहका शिक्षक, प्राथमिक तह इन्चार्ज वा कक्षा ४ र ५ मा अध्यापन गराउने शिक्षकहरुका लागि निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम-२०८३संचालन गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले गुणस्तरीय शिक्षा निर्माणमा सक्षम र दक्ष शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताएका छन्। ‘शिक्षक राम्रो भए विद्यार्थी पनि राम्रो हुन्छ, त्यसैले शिक्षकलाई योग्य र सक्षम बनाउन यस्ता तालिम आवश्यक छन्,’ उनले भने । प्रमुख प्रजापतिले विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समिति गठन गरी समितिको सिफारिसका आधारमा विद्यालयहरूलाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै आगामी बजेटमा विद्यालयहरूमा स्मार्ट बोर्ड व्यवस्थापनलाई समेत समावेश गरिएको उल्लेख गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताए । गुणस्तरीय शिक्षा परीक्षा नतिजाले मात्र निर्धारण नहुने, विद्यार्थीको क्षमता, सीप र व्यवहारले पनि त्यसको मूल्यांकन हुने उल्लेख गर्दै शिक्षासँगै संस्कारको विकासमा पनि जोड दिनुपर्ने उनले बताए । नगरपालिकाले एसईईमा ४ जीपीए प्राप्त गराउने विद्यालय, विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम रहेको अवगत गराउँदै विद्यार्थीलाई निरन्तर प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष एवम् विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले शिक्षकहरू अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिँदै शिक्षणलाई प्रभावकारी र समयानुकूल बनाउन शिक्षकले निरन्तर अध्ययन, अनुसन्धान तथा नयाँ शिक्षण विधि अवलम्बन गर्नुपर्ने बताएका छन् । उनले सरकारले लागू गरेको नयाँ निरन्तर मूल्यांकन प्रणालीले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै यस प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
नगर शिक्षा शाखा प्रमुख साधुराम फुयाँलले सरकारले लागू गरेको नयाँ शैक्षिक नीतिअनुसार आगामी शैक्षिक सत्रदेखि विद्यालयहरूले निरन्तर मूल्यांकन प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै नयाँ प्रविधि र नीतिअनुसार सञ्चालन गरिएको यस तालिमले शिक्षकहरूलाई मूल्यांकन प्रणाली कार्यान्वयनमा सक्षम बनाउने विश्वास व्यक्त गरे । कार्यक्रमका सञ्चालनकर्ता रोशनराज तुइतुइले विद्यालयहरूमा निरन्तर मूल्यांकन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । तालिममा सह प्रा. डा. बासु प्रसाद सुवेदीले आन्तरिक मूल्यांकनको अवधारणा, उद्देश्य, कार्यान्वयन प्रक्रिया तथा विद्यालयमा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे प्रशिक्षण तथा सहजीकरण गरेका छन् ।




