काठमाडौं, १९ असार । बाढीले अस्थायी ड्याम भत्काएपछि काठमाडौं उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी मुहानमै बन्द गरिएको छ । मेलम्ची साइटका प्राविधिकहरुले दिएको जानकारी अनुसार बिहीबार राति ९ बजे सुरुमा पानी धरै धमिलो आएको थियो । त्यसपछि मुहानमा निर्माण गरिएको अस्थायी ड्यामको संरचनालाई बाढीले क्षति गरेको थियो । बिहीबार रातिदेखि नै सुरुङमा पानी पठाउन छाडेको ती प्राविधिकले बताए ।
सिन्धुपाल्चोकको हेलम्बुमा रहेको मुहान आसपासका क्षेत्रमा बर्सात्का कारण बाढी आएको हो । ‘पानीको बहाव घटेको छैन,’ ती कर्मचारीले भने, ‘तत्कालै पानी पठाउने सम्भावना देखिँदैन ।’ मेलम्ची आयोजनाका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता मधु तिमिल्सनाले पानी बन्दको औपचारिक निर्णय नभएको बताए । उनले पानी धमिलो आएको र बाढीको सम्भावना रहेकाले अब के गर्ने छलफल भइरहेको बताए ।
०७८ असारको बाढीले मेलम्ची आयोजनाको मुहान पूरै ध्वस्त बनाएका कारण बर्सात्मा बर्सेनि पानी बन्द गरिँदै आएको छ । त्यतिबेला हिमाली भेग भेमाथाङबाट अचानक आएको बाढीले हेलम्बुदेखि मेलम्ची र काभ्रेको दोलालघाटसम्म क्षति गरेको थियो । उक्त बाढीपछि मेलम्ची मुहान सार्ने निर्णय भए पनि त्यसको अन्तिम रिपोर्ट तयार नभएको मेलम्ची आयोजनाले जनाएको छ । मुहान नबनेका कारण सुक्खा मौसममा मात्र सुरुङबाट पानी काठमाडौं ल्याउने गरिएको छ । यस पटक अस्थायी ड्यामलाई नै क्षति गरेकाले पानी ल्याउन लामो समय कुर्नुपर्ने हुन सक्ने आयोजनाका अधिकारीहरुले बताए ।




