भक्तपुर, २८ असार । भक्तपुरलाई पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका चारवटै स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै आवश्यक खोप प्राप्त गरेको पुष्टि भएपछि आइतबार आयोजित विशेष समारोहबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
भक्तपुर यसअघि २०७५ सालमा पहिलो पटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो। त्यसपछि दिगोपनाका सूचक, नियमित अनुगमन तथा सेवा निरन्तरताका आधारमा पुनः मूल्याङ्कन गरिँदै आएको छ। गत वर्ष पनि घोषणा गरिएको भए पनि यो नियमित मूल्याङ्कन प्रक्रिया भएकाले चारै नगरपालिकाले आवश्यक मापदण्ड पूरा गरेपछि यस वर्ष पुनः औपचारिक घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री थापाले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको प्रारम्भिक पहिचानका लागि स्वयंसेविका र स्वास्थ्यकर्मीको टोली परिचालन गरी घरदैलोमै स्वास्थ्य सेवा पुर्याइने जानकारी दिएका छन्। उनले रोकथाममूलक स्वास्थ्य सेवामा प्रदेश सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै अब समुदायमै पुगेर रोग पहिचान र परामर्श सेवा विस्तार गरिने बताएका छन् ।
मन्त्री थापाले भक्तपुर अस्पतालमा छिट्टै कार्डियोलोजी (मुटुरोग) सेवा सञ्चालनमा ल्याइने जानकारी दिँदै प्रदेशबासीलाई विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै जिल्लामा उपलब्ध गराउने लक्ष्यअनुसार अस्पतालहरूको क्षमता विस्तार भइरहेको बताए। उनका अनुसार ख्वोप अस्पतालमा अत्याधुनिक एमआरआई (MRI) मेसिन खरिदका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। उपकरण सञ्चालनमा आएपछि बिरामीले एमआरआई परीक्षणका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता घट्ने र समयमै गुणस्तरीय सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ मन्त्री र सचिव भक्तपुरकै भएका कारण पनि जिल्लालाई स्वास्थ्यकाे हब बनाउने पहल भइरहेको बताएका छन् । उनले भक्तपुर अस्पताल मुलुकभरमै उत्कृष्ट हुन सफल भएको बताएका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धिमात्र नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण चुनौती भएको बताइन्। खोप पाउने उमेर पुगेका कुनै पनि बालबालिका छुट्न नहुनेमा जोड दिँदै उनले नियमित खोप कार्यक्रम प्रभावकारी बन्दा बाल मृत्युदरमा उल्लेखनीय कमी आएको र हालसम्मको तथ्यांकअनुसार हरेक वर्ष बाल मृत्युदर करिब ८० प्रतिशतले घटेको जानकारी दिइन् ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काका अनुसार जिल्लामा ० देखि १६ महिनासम्मका ५ हजार ५० बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। तीमध्ये भक्तपुर नगरपालिकामा ८०८, मध्यपुर थिमीमा १ हजार ३७८, सूर्यविनायकमा १ हजार ७५० र चाँगुनारायणमा १ हजार ११४ जना रहेका छन्। यस्तै, १६ देखि २३ महिनासम्मका ५ हजार ६८४ बालबालिकाले पनि सबै आवश्यक खोप प्राप्त गरेका छन्। यस समूहमा भक्तपुर नगरपालिकाका ४८९, मध्यपुर थिमीका २ हजार ८३६, सूर्यविनायकका १ हजार ३८९ र चाँगुनारायणका ९७० जना बालबालिका रहेका छन्।
प्रमुख खड्काले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था, स्थानीय तह तथा समुदायको सक्रिय सहकार्यका कारण जिल्लाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न सफल भएको बताउँदै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गरिने बताइन्।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख सुजाता बाडेले घोषणा उपलब्धिको अन्त्य नभई जिम्मेवारीको सुरुआत भएको उल्लेख गरिन्। उनले नियमित अनुगमन, जनचेतना अभिवृद्धि तथा सेवा विस्तारमार्फत पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम राख्नुपर्ने बताइन् । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री थापाले सम्मान गरेका छन् । भक्तपुरको पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै जिल्ला बाल स्वास्थ्य सूचकमा अग्रणी जिल्लाका रूपमा स्थापित भएको छ। अब नवजातदेखि लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित रूपमा खोप सेवा उपलब्ध गराउँदै उपलब्धिलाई दीर्घकालीन बनाउने चुनौती र जिम्मेवारी सम्बन्धित सबै निकायमाथि थपिएको छ।




