भक्तपुर, ११ असार । मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिकवर्ष २०८३/०८४ का लागि ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले १४ औं नगरसभामा आगामी आर्थिकवर्ष २०८३/०८४ का उक्त बजेट प्रस्तुत गरेका हुन् । मध्यपुर थिमिले बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकता दिइएको छ। जसमध्ये ६० प्रतिशत पुँजीगत तथा ४० प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ। नगरपालिकाले आगामी वर्ष निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, डिजिटल प्रविधिमैत्री सेवा, सांस्कृतिक पर्यटन विकास, रोजगार प्रवर्द्धन तथा समावेशी विकासलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ।
नगरसभामा चालु आर्थिक वर्षको समीक्षा प्रस्तुत गर्दै उपप्रमुख श्रेष्ठले हालसम्म ४४ करोड ३९ लाख रुपैयाँभन्दा बढी आन्तरिक राजस्व संकलन भएको जानकारी दिएका छन् । साथै जन-आदर्श क्याम्पस भवन, प्रशासनिक भवन, निलबाराही चक्रपथ, नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल लगायतका महत्वपूर्ण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गरेका छन्। यस बजेटले ‘समृद्ध, सुन्दर र सांस्कृतिक मध्यपुर थिमि’ निर्माणको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ ।
त्यसैगरी, नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आगामी आर्थिकवर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सुशासन, पूर्वाधार विकास, सामाजिक क्षेत्र, संस्कृति तथा पर्यटन संरक्षण, खानेपानी तथा सरसफाइ, कृषि-रोजगार तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । नीति तथा कार्यक्रममा नगरपालिका सेवाको डिजिटलीकरण, सार्वजनिक वाइफाइ विस्तार, कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम, प्रशासकीय भवन निर्माण, सडक तथा ढल स्तरोन्नति, स्मार्ट सडक बत्ती जडान, फोहोर व्यवस्थापन, खानेपानी सेवा विस्तार, विपद् पूर्वतयारी तथा उद्धार व्यवस्थालाई सुदृढ बनाउने योजना समेटिएको छ।
शिक्षा क्षेत्रमा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षालाई प्रभावकारी बनाउने, सामुदायिक विद्यालयको गुणस्तर सुधार, कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा दिवा खाजा कार्यक्रम विस्तार गरिने भएको छ। स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिक, महिला तथा विपन्न वर्ग लक्षित स्वास्थ्य कार्यक्रम, आयुर्वेद तथा होमियोप्याथिक सेवा विस्तार, निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।
त्यस्तै, कृषि/पशुपालन, सहकारी, उद्यमशीलता तथा पर्यटन प्रवर्द्धनका कार्यक्रममार्फत स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासलाई थप गति दिने लक्ष्य लिइएको उनी बताउँछन्। नगरप्रमुख श्रेष्ठले समृद्ध, सुशासित र सांस्कृतिक पहिचानयुक्त मध्यपुर थिमि निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।




