६ दशक लामो इतिहास बोकेको श्री जनक सिद्धिकाली माविको भवन पुनर्निर्माण अलपत्र

Date:

Share post:

Changunarayan Nagarpalika

भाडाको घरमा विद्यालय संचालन

भक्तपुर, २० चैत । छ दशकभन्दा लामो इतिहास बोकेकाे मध्यपुर थिमिको मुटुमा अवस्थित श्री जनक सिद्धिकाली माध्यमिक विद्यालयको भवन पुनर्निर्माण कार्य अलपत्र परेको छ । ऐतिहासिक, सांस्कृतिक सिद्धिकाली मन्दिरसँगैको विद्यालय भवन निर्माण स्थलको विषयलाई लिएर ३ वर्षदेखि स्थानीयबासिन्दाको विरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन ।
बागमती प्रदेश सरकारबाट बजेट सुनिश्चित भइ ठेक्का प्रक्रिया सकेर विद्यालय भवन पुनर्निर्माणका लागि जग खन्ने क्रममा सिद्धिकाली मन्दिर परिसरको सत्तलको पर्खाल चर्किएको र ढुङ्गेधाराको पानीको श्रोत (डोंर) भेटिएको प्रसंगलाई लिएर स्थानीयबासिन्दाले विरोध जनाउँदै आएका छन् । २०१७ सालमा स्थापना भएको उक्त विद्यालय भवन पुनर्निर्माणका लागि मध्यपुर थिमि नगरपालिकाको समन्वय तथा बागमती प्रदेश सरकारको बजेटमा २०८० चैत १४ गते आरबी सिद्धार्थ कन्स्ट्रक्सन प्रालि सूर्यविनायकसँग ५ करोड २७ लाख ४८ हजार ४३७ रुपैयाँ ठेक्का सम्झौता भएको थियो । नगरपालिकाका अनुसार निर्माण कम्पनीले काम नै सुरु गरिसकेको अवस्था थियो । तर, सिद्धिकाली क्षेत्र मन्दिर संरक्षण तथा विकास समिति, सिद्धिकाली नित्य भजन, सिद्धिकाली रामायण भजन मण्डल र केही सम्पदा संरक्षणकर्मी बताउने स्थानीयबासिन्दाले ऐतिहासिक स्थल सिद्धिकाली क्षेत्रमा अवस्थित मध्येको एक ढुङ्गेधारको मुहान जनक सिद्धिकाली मा.वि. को पुनर्निर्माण कार्य गर्दा क्षति हुन पुगेकोले उक्त मुहान निर्माण गरिदिन र उक्त स्थानमा अवस्थित पाटीको क्षति हुन पुगेकाले सो निर्माण गरि विद्यालय क्षेत्रले वगटेको ६ फिट ६ इन्च विद्यालको उत्तर पूर्व तर्फको स्थान छोडी भवन निर्माण गर्न लगाउन नगरपालिकालाई पत्राचार समेत गरेको थियो ।

नगरपालिकाले स्थानीयबासिन्दाको सम्पदा संरक्षण प्रतिको अपेक्षा र तत्काल विद्यालयको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता अनुरुप नै विद्यालय भवन पुनर्निर्माणको लागि तयार पारेको डिजाइनलाई नै परिमार्जित गरेको जनाएको छ । परिमार्जित डिजाइन अनुसार यथाशीघ्र विद्यालय पुनर्निर्माणको काम थाल्ने नगरप्रमुख सुरेन्द्र श्रेष्ठ बताउँछन् । ‘विद्यालय भवन पुनर्निर्माणका लागि पुरानो र जीर्ण भवन भत्काउँदा सम्म केही समस्या थिएन,’ नगरप्रमुख श्रेष्ठले भने, ‘जग खन्ने क्रममा केही विवाद भयो, समस्याको समाधान भइसक्यो अब छिट्टै भवन निर्माण सुरू हुन्छ ।’

हाल विद्यालय भाडाको घरमा संचालन भईरहेको छ । कक्षाकोठा अपुग छ । पुस्तकालय/ कम्प्यूटर कक्षा केही छैन । पर्याप्त खेलमैदान छैन । ‘२०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त विद्यालय भवन ७२ लाख खर्च गरेर जीर्णोद्धार गरेपनि बच्चा राखेर पढाउन जोखिम भयो’, श्री जनक सिद्धिकाली माविकी प्रधानाध्यापक मञ्जु झाले भनिन्,’नगरपालिकाले भवन पुनर्निर्माणका लागि जग खनिसकेपछि विवाद सुरु भयो । जग खन्नुअघि विवाद थिएन । समयमा भवन पुनर्निर्माण नहुँदा समस्यै समस्यासँग जुध्न बाध्य छौं ।’ भाडाको घरमा सरेपछि विद्यार्थी संख्या घटेको समेत उनी बताउँछिन् । ‘२७५ विद्यार्थी थिए, झण्डै १०० विद्यार्थी अन्यत्र गए’, उनले भनिन् ।

नगरपालिकाले मासिक करसहित १ लाख २० हजार रूपैयाँ भाडा तिर्दै आएको छ । उक्त विद्यालय भवन पुनर्निर्माणका लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठ बताउँछन् । ‘विद्यालय शिक्षाको मन्दिर हो, श्री जनक सिद्धिकाली माविले मध्यपुर थिमीको इतिहास बोकेको छ, त्यसकारण उक्त स्थानमा विद्यालय बन्नुपर्छ,’ उनले भने ।

शिक्षक अभाव
२०८० सालमा दरबन्दी मिलानको क्रममा श्री जनक सिद्धिकाली माविबाट ८ जना शिक्षक घट्यो । स्थानीय तह (मध्यपुर थिमी नगरपालिका) बाट २ जना शिक्षक पठायो तर, दरबन्दी नदिएको विद्यालय प्रशासनले जानकारी दिएको छ । ११ जना दरबन्दी रहेको उक्त विद्यालयमा ९ जना मात्र छन् । २ दरबन्दी रिक्त छ । १ जनाको अनिवार्य अवकाश भएको समेत पूर्ति नभएको प्रधानाध्यापक मञ्जु झा बताउँछिन् । विद्यालयमा विषयगत शिक्षक समेत छैन । शिक्षक दरबन्दी कटान र भवन अभावले योजना अनुरुप विद्यार्थी थप्न नसकेको समेत उनी बताउँछिन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ट्रकको ठक्करबाट घाइते इन्स्पेक्टर लामाको निधन

काठमाडौं, १ वैशाख । ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी अधिकृत (इन्स्पेक्टर) अभय लामाको निधन भएको छ ।...

बिस्काः जात्राको लिङ्गो ठड्याईंदै

भक्तपुर, ३० चैत । भक्तपुरको प्रसिद्घ बिस्काः (बिस्केट) जात्राको चौथो दिन शुक्रबार तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’...

सिंहदरबारभित्र गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन

काठमाडौं, ३० चैत । इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकाय एकीकृत...

मध्यपुर थिमिको खुल्ला धिमे बाजा प्रतियोगितामा चन्द्रागिरीको श्री नास भैरव धिमे खलः विजयी

भक्तपुर, २९ चैत । मध्यपुर थिमि नगरपालिकाद्वारा आयोजना तथा श्री राज गणेश धिमे खलःको सहकार्यमा शनिबार खुल्ला धिमे...