मकवानपुर, २६ कात्तिक । भीमफेदीमा गाउँपालिका- ६ चिसापानीगढीमा भएको सवारी दुर्घटनाको कारण अध्ययन गरी भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय पहिचान गर्न समिति गठन गरिएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले दुर्घटनाको कारण अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत र पूर्वाधार विकास कार्यालय, बागमती प्रदेशका प्रतिनिधि रहेको समिति गठन गरिएको जानकारी दिए ।
समितिलाई ७ दिनभित्र दुर्घटनाको कारण, सडकको अवस्था तथा सम्भावित जोखिमको अध्ययन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ। प्रतिवेदनका आधारमा दुर्घटना न्यूनीकरणका उपाय पहिचान गरी कार्यान्वयन गरिने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ चिसापानी गढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा भएको ईभी गाडी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने, ६ जना घाइते भएका छन्।







