मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुबाहक विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । गाडीमा बालबालिकासहित २० जना सवार थिए । ६ जना घाइतेमध्ये ३ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । <span;>मृत्यु हुनेमा महिला ४, बालिका ३ र ७ जना पुरुष रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालकसहित ११ मृतकको पहिचान खुलेको छ । अझै ३ जनाको सनाखत हुन बाँकी छ ।
प्रहरीका अनुसार दुर्घटनाबाट मृत्यु हुनेमा सर्लाही कविलासी-८ का ३० वर्षीय रविशंकर कुमार मण्डल, चक्रघट्टा-४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव सोही स्थानका ३५ वर्षीय पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुहु यादव, ३२ वर्षीय गायत्री यादव, रामदुलार यादव, २४ वर्षीय सुवोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् । ६ जना घाइतेको हेटौंडा अस्पतालमा उपचारको निम्ति ल्याइएको थियो । उपचारपश्चात तीन जना डिस्चार्ज भइसकेका छन् । तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० माइक्रो चिसापानीगढी सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान पौने ६ बजे भएको हो । गाडीमा यात्रु छठपर्व मनाउन घर फर्कँदै थिए ।







