मकवानपुर, २६ कात्तिक । भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुबाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुबाहक ईभी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनाका बेला सवारीमा करिब २० जना सवार रहेको अनुमान गरिएको छ। हालसम्म ११ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि भएको छ। सवारीमा सवारमध्ये अझै तीनदेखि चार जना हराइरहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनामा मृत्यु भएका तथा घाइते भएका सबै सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरका स्थानीय रहेको बुझिएको छ। दुर्घटनामा परेको ईभी १० सिट क्षमताको रहेको र त्यसमा क्षमताभन्दा बढी यात्रु सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बिहान झिसमिसेमै दुर्घटना भएकाले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि दुर्घटनाको वास्तविक कारण खुल्न सकेको छैन। दुर्घटनामा संलग्न चालकको अवस्था र पहिचानसमेत यकिन हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधव काफ्लेले मृतक, घाइते तथा हराइरहेको हुनसक्ने व्यक्तिहरूबारे जानकारी दिएका हुन्। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।







