मकवानपुर, २६ कात्तिक । हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला, २ बालिका र ५ जना पुरुष रहेका छन् ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न सकेको छैन । मृतकहरूमध्ये अधिकांश सर्लाही जिल्लाका रहेका छन् । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको ईभी गाडी चिसापानीगढीमा सडकबाट करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
ईभी गाडी सर्लाहीका यात्रु लिएर काठमाडौंबाट बिहीबार बिहान हिँडेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी पुगेर घाइतेहरूको उद्धार गर्नुका साथै मृतकहरूको शव हेटौंडा ल्याउँदै छन् । उक्त घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट ८ किलोमिटर उत्तर पर्छ ।







