काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीति समेत खलबलिएको टिप्पणी गरेका छन् । सोमबार (कात्तिक २३) भक्तपुरमा एमाले जिल्ला कमिटीले चाडपर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाजमा परोपकार, करुणा र निर्माणको भावनाभन्दा विध्वंसको प्रवृत्ति बढेको बताए ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुभन्दा नष्ट गर्ने प्रवृत्ति बढेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले आफू नेतृत्वको तत्कालीन सरकारले विभिन्न स्थानमा ठूला सभा हल, रंगशाला तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जिकिर गरे । ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण गरिएको उनले उल्लेख गरे । उनले त्यहाँ हजारौँ मानिस अट्ने व्यवस्था रहेको बताए । भक्तपुरमा समेत ठूला सार्वजनिक तथा सामुदायिक सभा हलको आवश्यकता रहेको उनको भनाइ थियो ।
सामान्य कार्यक्रम आयोजना गर्नुपर्दा पार्टी प्यालेसमा निर्भर हुनुपर्ने अवस्था रहेको उनले बताए । उनले सार्वजनिक सभा हल निर्माणमा ध्यान दिनुपर्ने औँल्याए । भूकम्पबाट क्षति पुगेका संरचनालाई अझ बलियो र व्यवस्थित रूपमा पुनर्निर्माण गर्ने प्रयास गरिएको उनले सुनाए । दशरथ रंगशालाको पुनर्निर्माण, पोखरा रंगशालालगायत विभिन्न स्थानमा खेल पूर्वाधार निर्माणलाई उनले विकासको उदाहरण भएको बताए ।
विकास भएका संरचना भत्काउने, झुट बोल्ने र राष्ट्रिय सम्पत्तिमा आगजनी तथा लुटपाट गर्ने प्रवृत्ति बढेको भन्दै ओलीले चिन्ता व्यक्त गरे । यस्ता गतिविधिको जड समाजमा सांस्कृतिक भावना कमजोर हुनु रहेको उनको तर्क छ ।







