काठमाडौं, १९ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चेपाङ समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा र आवासबिहीन परिवारका लागि घर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार मकवानपुरको मनहरी गाउँपालिकास्थित चेपाङ बस्तीको निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले वर्षौंदेखि उत्पीडनमा परि राज्यको मूलप्रवाहबाट बञ्चित रहँदै आएका चेपाङ समुदायको अवस्थाप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । मुख्यमन्त्री थापा मगरले बढ्दो चिसोलाई मध्यनजर गर्दै न्यानो कपडाको अभावमा कोही पनि कठ्याङ्ग्रिन नपरोस् र आवासको अभावमा कसैले पनि कष्ट भोग्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले आवश्यक व्यवस्था गर्ने बताएका हुन् ।
त्यसैगरी, चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउन कुखुराका चल्ला तथा बाख्राका पाठापाठी वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उनले जानकारी दिए। मुख्यमन्त्री थापा मगरले वितरण गरिएका बाख्रा मासुका लागि काटेर खानुभन्दा पालनपोषण गरी संख्या वृद्धि गर्न समुदायलाई आग्रह समेत गरे। पशुपालनलाई आम्दानीको स्रोतका रूपमा विकास गर्न सके आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उनको भनाइ छ।
यसैबीच, नेकपा एमाले मनहरी गाउँपालिका-६ कमिटीले चेपाङ समुदायका तीन परिवारका लागि निर्माण गरेका घर हस्तान्तरण गरेको छ। मानबहादुर प्रजा, रवीलाल प्रजा र सुर्यबहादुर प्रजाका परिवारका लागि निर्माण गरिएका घर मुख्यमन्त्री थापा मगरले बिहीबार हस्तान्तरण गरेका छन् । नेकपा एमालेले पार्टी सदस्यहरूबाट रकम संकलन गरी प्रतिघर तीन लाख रुपैयाँको लागतमा ती घर निर्माण गरेको जनाएको छ।
घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले घरबारबिहीन नागरिकका लागि आवास निर्माण गर्न बजेट विनियोजन गरेको जानकारी दिए । उनले आवासबिहीन चेपाङ परिवारलाई पनि उक्त कार्यक्रममार्फत समेटिने प्रतिबद्धता जनाए । ‘एक घर निर्माणका लागि चार लाख रुपैयाँ बजेट राखेका छौँ। प्रदेश सरकारले एक हजार घर बनाउने गरी बजेट विनियोजन गरेको छ। जसको घर छैन, उहाँहरूकै लागि उक्त बजेट छुट्याएका छौँ। तिहारपछि नै हामीले त्यो काम सुरु गर्छौँ,’ उनले भने ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौला, जिल्ला अध्यक्ष हृदयराम लामा लगायतका नेता तथा स्थानीयबासीको उपस्थिति थियो।







