काठमाडौं, १४ कार्तिक । प्रहरीले ‘समाचारको स्रोत खोज्ने उद्देश्य’ राखी विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको छ । पत्रकारलाई नियन्त्रणमा लिनुको उद्देश्यबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन तर, प्रहरी अनुसन्धानका विषयमा समाचार सार्वजनिक गरेर पत्रकारहरूलाई केन्द्रमा राखी धरपकड गरिएको छ ।
प्रहरीले शुक्रबार अपराह्न नेपाल प्रेस डटकमबाट विश्वमणि सुवेदी, मोटिभेटन्युज डटकमका सम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई पक्राउ गरेको थियो भने, नयाँ पत्रिका दैनिकको कार्यालयमा पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन तीन घण्टासम्म प्रयास गरेको थियो । सवा ५ बजेतिर नयाँ पत्रिका पुगेको प्रहरी टोली राति ८ बजे फर्किएको छ । अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा समेत प्रहरी टोली पुगेको थियो । तर, प्रधानसम्पादक सुदीप विश्वकर्मालाई फेला नपारेपछि फर्किएको थियो ।
समाचारका विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत निरूपण गर्ने ठाउँ हुँदाहुँदै गरिएको धरपकडलाई लिएर सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले विरोध गरेका छन् ।
तस्बिर : नयाँ पत्रिका ।







