भक्तपुर, १६ भदौ । मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा ऐतिहासिक नीलबाराही नाच प्रदर्शन गरिएको छ । हरेक वर्ष भाद्र द्वितीयादेखि पञ्चमीसम्म चार दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन हुने नीलबराही नाच नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गर्ने चलन छ ।
नाचमा धाँ बाजा, भुस्याय, काँय, पोगाँ बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगणहरू नाच्ने गर्दछन् । नीलबाराही नाचको देवगणमा भैरव, बाराही ४, कुमारी ४, सिहं ४, द्वारपाल २ र गणेश ४ गरी १९ जनाको समूह हुन्छ। देवगणका ज्वकुलु (सहयोगी) र वाद्यवाधक गरी एक सय जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुने गर्दछन्। नीलबाराही गणनाच तान्त्रिक विधि विधानयुक्त नाच हो।
नीलबाराही नाचमा देवता बनेर नाच्ने व्यक्ति नाच्नका लागि घरबाट निस्केदेखि कसैसँग बोल्न नहुने, हावाहुरी र ठूलै पानी परे पनि कतै ओत लाग्न नहुने, घामपानीबाट बच्न छाता ओढ्न नहुने, तिर्खा लागे पानी पिउन नहुने, थकाइ लागे कहीं कतै बस्न नहुने र बस्नै पर्ने भए जोकलको तिघ्रामा मात्र आसन लगाएर बस्नुपर्ने, दैनिक १४/१५ घण्टा थकाइ नभनी नाच्नुपर्ने विधान छ। नीलबाराही नाचमा एकपटक देवता बनेपछि मृत्यु नभएसम्म उनको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान रहेको स्थानीय बताउँछन् । देवता बनेको व्यक्ति भागेमा, विदेश गएमा, बिरामी भएमा उसको मुखुण्डो देवघरमा राखेर पूजा गरी राख्ने तर उसको स्थानमा अर्को व्यक्तिलाई देवता बनाउन नहुने विधान छ। निलबाराही नाच मंगलबार साँझ सम्म चल्नेछ ।
तस्बिर : सचिन बज्राचार्य






