भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । राष्ट्रिय खोप कार्यक्रमअनुसार भक्तपुर नगरपालिकाका १० वटै वडाहरुमा वडास्तरीय पूर्ण खोप घोषणा भइसकेको र नगरपालिका स्वास्थ्य शाखाबाट ती वडाहरुमा भेरिफिकेशन गर्दा कुनै पनि बालबालिका खोपबाट छुटेको नभेटिएकोले भक्तपुर नगरपालिकाका १६ देखि २३ महिलाभित्रका बालबालिकाहरु पूर्ण खोपयुक्त भएकोले भक्तपुर नगरपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक बालबालिकाले समयमै नियमित खोप पाउने वातावरण सुनिश्चित गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावक सबैको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । उनले एक जना पनि बालबालिका खोपबाट छुट्न नहुने उल्लेख गर्दै नगरभित्र बसोबास गर्ने सबै लक्षित बालबालिकालाई अनिवार्य रूपमा पूर्ण खोप उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताएका छन् । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउँदै भक्तपुरलाई स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका अघि बढिरहेको उल्लेख गर्दै यस अभियानलाई सफल बनाउन सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु स्वास्थ्य सेवाको मूल मान्यता भएको बताउँदै खोप कार्यक्रमको महत्व अत्यन्त ठूलो रहेको उल्लेख गरिन् । स्वस्थ र शिक्षित नागरिक नै समृद्ध समाज तथा राष्ट्र विकासको आधार भएकाले सबै बालबालिकाले समयमै पूर्ण खोप प्राप्त गर्नुपर्नेमा उनको जोड छ । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले पूर्ण खोप सुनिश्चिततासहित स्वास्थ्य सेवाको दिगोपनाका लागि केही महत्वपूर्ण पक्षमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउन नियमित अनुगमन, सिकाइ तथा सेवा सुधारमा जोड दिनुपर्ने बताए ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबै बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याउन समन्वयात्मक रूपमा काम गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
भक्तपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले पूर्ण खोप सुनिश्चितता विभिन्न सङ्क्रामक रोगबाट बालबालिकालाई जोगाउने प्रभावकारी माध्यम भएको बताउँदै पूर्ण खोप सुनिश्चितता अभियानले खोपबाट छुटेका बालबालिकासमेत पहिचान गरी खोप लगाउने अवसर प्रदान गरेको बताएका छन् । कार्यक्रममा भक्तपुर नगरपालिका खोप फोकल पर्सन कमलकेशरी राजचलले भक्तपुर नगरपालिकाको पूर्ण खोप सुनिश्चितताको वर्तमान अवस्था, खोप कार्यक्रमको प्रगति, खोपको पहुँच तथा उपलब्धिसम्बन्धी तथ्यांकप्रस्तुत गरिन्। कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले नगर प्रमुख सुनिल प्रजापतिलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र हस्तान्तरण गरेकी छन् ।




