भक्तपुर, १५ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ७ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयबासीले विकास निर्माणमा ढिलासुस्ती, योजनामा राजनीतिक हस्तक्षेप, शिक्षा क्षेत्रको कमजोर अवस्था तथा आधारभूत सेवाप्रति जनप्रतिनिधिको जवाफदेहितामाथि तीव्र प्रश्न उठाएका छन् । राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा बागेहिणी माध्यमिक विद्यालयमा सम्पन्न सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रममा सहभागी स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, वातावरण संरक्षण र सुशासनका विषयमा खुलेर असन्तुष्टि व्यक्त गरेका हुन् ।
कार्यक्रममा स्थानीयबासीले विशेषगरी वर्षौंदेखि निर्माणको प्रतीक्षामा रहेका सडक आयोजना रोकिएको विषयलाई प्रमुख रूपमा उठाए । १९५१ सालदेखि प्रयोगमा रहेको सडक अझै कालोपत्रे हुन नसकेको उल्लेख गर्दै उनीहरूले बजेट विनियोजन भए पनि प्रदेश तहबाट मुद्दा हालेर काम रोकिएको आरोप लगाए ।
स्थानीयले “विकासभन्दा राजनीति ठूलो भयो” भन्दै सडक निर्माणको नाममा भत्काइएका संरचना लामो समयसम्म अलपत्र छाडिँदा दुर्घटना बढेको गुनासोसमेत गरे । काम नगर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न उनीहरूको माग थियो ।
सार्वजनिक सुनुवाइमा वडा सचिव पुष्पराम लिवीले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै वडामा ८८ वटा योजना स्वीकृत भएको जानकारी दिए । तीमध्ये ७८ योजनाको सम्झौता भइसकेको, ५८ योजना सम्पन्न भएको तथा पाँच योजना निर्माणको क्रममा रहेको उनले बताए । बाँकी १० योजनाको सम्झौता हुन बाँकी रहेको जानकारी दिँदै उनले वडाले चालु आर्थिक वर्षमा एक करोड चार लाख ६८ हजार ६ सय २६ रुपैयाँ राजस्व संकलन गरेको उल्लेख गरे ।
यद्यपि, प्रस्तुत प्रगति विवरणप्रति स्थानीयवासी सन्तुष्ट देखिएनन् ।
कार्यक्रममा शिक्षा क्षेत्रबारे उठेका प्रश्न सबैभन्दा संवेदनशील बने । स्थानीयले तीन वटा विद्यालय “घटुवा” गरिएको विषयमा असन्तुष्टि जनाउँदै सरोकारवाला, अभिभावक र विज्ञसँग पर्याप्त छलफल नगरी निर्णय गरिएको आरोप लगाए । सामुदायिक विद्यालयमा राजनीतिक प्रभाव बढेको, गुणस्तरीय शिक्षा कमजोर बन्दै गएको तथा शैक्षिक सत्रकै बीचमा शिक्षक सरुवा हुँदा विद्यार्थी प्रत्यक्ष प्रभावित भएको गुनासो सहभागीहरूले गरेका थिए ।
स्थानीयले सरकारी कर्मचारीका छोराछोरी सरकारी विद्यालयमै अध्ययन गर्नुपर्ने नीति लागू गर्न मागसमेत राखे ।
त्यस्तै, पञ्चकन्या र भिमसेन मन्दिर सार्ने प्रयास भइरहेको भन्दै स्थानीयवासीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग गरेका थिए ।
खानेपानी, फोहोर व्यवस्थापन र वातावरण संरक्षणका विषयमा पनि स्थानीयले असन्तुष्टि व्यक्त गरे । नियमित फोहोर संकलन नहुने, ढल खोलामा मिसाइने, बनजंगल संरक्षण प्रभावकारी नभएको तथा मुख्य सडक र नाकामा पर्याप्त सीसी क्यामेरा नजडान गरिएको गुनासो कार्यक्रममा उठाइएको थियो ।
जवाफमा बागेश्वरी स्वास्थ्य चौकीका प्रमुख श्याम श्रेष्ठले स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाह भइरहेको दाबी गरे । उनले औषधि केही अपुग भए पनि व्यवस्थापन गरिरहेको तथा उपचार शुल्क नगरपालिकाले तोकेअनुसार नै लिने गरिएको स्पष्ट पारे ।
वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठले वडा कार्यालयले पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण तथा सुशासनका क्षेत्रमा जनआवश्यकताअनुसार काम गरिरहेको बताए ।
उनले “एक घर, एक धारा” अभियान सञ्चालन भइरहेको जानकारी दिँदै बागेश्वरी खानेपानी आयोजनामार्फत करिब ४०० घरपरिवारलाई खानेपानी वितरण भइरहेको बताए । मझुवा, गिरीटोल र सानो हलहलेलगायत क्षेत्रमा खानेपानी आयोजना व्यवस्थापनको काम भइरहेको उनको भनाइ थियो ।
सडक बत्ती, सीसी क्यामेरा तथा सुरक्षा व्यवस्थापनका कारण चोरी–डकैती र दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको दाबी गर्दै उनले वडा भवन निर्माणको कामसमेत अगाडि बढिरहेको जानकारी दिए । तीन विद्यालय घटुवा गरिएको विषयमा आफू पनि दुःखी रहेको उल्लेख गर्दै वडाध्यक्ष श्रेष्ठले ती विद्यालयलाई कमजोर हुन नदिने प्रतिबद्धता जनाए । “विपन्नदेखि सम्पन्न नागरिकले पढ्ने नमुना विद्यालय बनाउने हाम्रो लक्ष्य हो,” उनले भने ।
सरकारी कर्मचारीका बालबालिकालाई सरकारी विद्यालयमा पढाउन मौखिक निर्देशन दिइएको स्वीकार गर्दै उनले बाध्यकारी व्यवस्था भने नभएको बताए ।
पञ्चकन्या र भिमसेन मन्दिर संरक्षण गरिने तथा विवादित सडक निर्माणलाई पनि निरन्तरता दिइने उनले स्पष्ट पारे ।
जेष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्तामा लागू गरिएको बायोमेट्रिक प्रणाली व्यवहारिक नभएको बताएका थिए । ल्याप्चे लाउन जानपर्ने बाध्यताका कारण सामाजिक सुरक्षा भत्ता लिन अरूलाइ साथी लिएर जानपर्ने र उनीहरूले पैसा लिइदिने गरेका कारण हुलाकबाट पठाउने प्रावधान बनाए हातहातमै पैसा पुग्ने धारणा राखेका थिए ।
स्वास्थ्य सेवाको विषयमा पनि स्थानीयले स्वास्थ्य चौकीमा आधारभूत सामग्री अभाव रहेको बताएका थिए ।
जवाफमा बागेश्वरी स्वास्थ्य चौकीका प्रमुख श्याम श्रेष्ठले स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाह भइरहेको दाबी गरे । औषधि केही अपुग भए पनि व्यवस्थापन भइरहेको उनले बताए ।
वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठले भने वडा कार्यालयले आवश्यकता अनुसार काम गरिरहेको दाबी गरे । उनका अनुसार “एक घर, एक धारा” अभियानअन्तर्गत बागेश्वरी खानेपानी आयोजनाबाट करिब ४०० घरपरिवारलाई खानेपानी वितरण भइरहेको छ । मझुवा, गिरीटोल र सानो हलहले क्षेत्रमा पनि खानेपानी व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठले सडक बत्ती, सीसी क्यामेरा तथा सुरक्षा व्यवस्थापनका कारण चोरी–डकैती र दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको दाबी गर्दै वडा भवन निर्माणको कामसमेत अगाडि बढिरहेको बताए ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्यहरू सीतादेवी लामिछाने, मनिता नेपाली, श्यामकाजी नयाँजु, पुस्कर खड्कालगायत जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
तीन विद्यालय घटुवा गरिएको विषयमा आफू पनि दुःखी रहेको उल्लेख गर्दै उनले विद्यालयलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे ।
उनले रोकिएका सडक निर्माणलाई निरन्तरता दिइने, गुणस्तरहीन निर्माण कार्यमा संलग्नलाई कारबाही गरिने तथा पञ्चकन्या र भिमसेन मन्दिर संरक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे । फोहोर व्यवस्थापनमा सबै स्थानीयवासीको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले टोल विकास समितिलाई थप सक्रिय बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी स्थानीयबासीले सार्वजनिक सुनुवाइ नियमित रूपमा ६–६ महिनामा गर्नुपर्ने, योजनाको बजेट तथा अन्य सूचना सहज रूपमा उपलब्ध गराउनुपर्ने तथा जनप्रतिनिधिले “जस लिन होइन, काम गर्न” केन्द्रित हुनुपर्ने धारणा राखेका थिए । ९० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा २६ जनाले विभिन्न विषयमा आफ्ना प्रश्न, जिज्ञासा तथा सुझावहरु राखेका थिए ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्यहरू सीतादेवी लामिछाने, मनिता नेपाली, श्यामकाजी नयाँजु, पुस्कर खड्कालगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।


