चाँगुनारायण-८ सार्वजनिक सुनुवाइ : तिखो प्रश्न, रचनात्मक सुझाव

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १५ जेठ । चाँगुनारायण नगरपालिका-८ मा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम जनताको सक्रिय सहभागिता, तिखो प्रश्न, रचनात्मक सुझाव र जनप्रतिनिधिप्रतिको विश्वासले विशेष अर्थपूर्ण बनेको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्य र वडा कार्यालयको समन्वयमा  महेन्द्रग्राम माध्यमिक विद्यालयको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा स्थानीयबासीले विकास, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, कृषि, सामाजिक सुरक्षा, खानेपानी तथा सार्वजनिक सम्पत्तिको संरक्षणलगायत विविध विषयमा खुलेर धारणा व्यक्त गरेका छन्। कार्यक्रममा जनप्रतिनिधि र स्थानीयबीच प्रत्यक्ष संवाद हुँदा वडाको वर्तमान अवस्था, चुनौती, उपलब्धि र भावी योजनाबारे विस्तृत छलफल भएको छ ।

कार्यक्रममा सहभागीहरूले जनताको चासो, गुनासो र समस्यासँगै समाधानका उपाय तथा दीर्घकालीन विकास योजनाबारे सुझाव दिएका  छन् । स्थानीय सरकार जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले नागरिकको आवश्यकता, अपेक्षा र चाहनाअनुसार कार्यसम्पादन हुनुपर्नेमा जोड दिइएका छन् । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूले चार वर्षको कार्यकालको समीक्षा गर्दै असल अभ्यास, चुनौती तथा आगामी योजनाका विषयमा धारणा राखेका छन् ।
कार्यक्रममा वडा सचिव राजकुमार गिरीले वडामा भएका प्रशासनिक, सामाजिक तथा भौतिक विकाससम्बन्धी गतिविधिको विस्तृत विवरण प्रस्तुत गरे । उनका अनुसार चालु आर्थिक वर्षमा वडामा ११९ वटा योजना स्वीकृत भएका छन् भने ७२० जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । चालु आर्थिक वर्षमा एक करोड ६० लाख ७६ हजार ७ सय ४५ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिँदै उनले युवा, महिला, अपाङ्गता भएका व्यक्ति, बालविवाह न्यूनीकरण, जेष्ठ नागरिक तथा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेको बताए ।
सचिव गिरीले जेष्ठ नागरिकका लागि धार्मिक तथा सांस्कृतिक भ्रमण, डिजिटल अभिमुखीकरण, जनचेतनामूलक सडक नाटक तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा सहभागी स्थानीयबासीले वर्तमान जनप्रतिनिधि ‘धन्यवादको पात्र’ बनेको उल्लेख गर्दै सीमित स्रोत र साधनका बीच पनि न्यूनतम आवश्यकताहरू पूरा भएको बताए । अब दिगो विकास र समृद्धिको स्थायी आधार निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

स्थानीयवासीले वडालाई शिक्षाको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना उत्कृष्ट रहेको भन्दै शिक्षक-शिक्षिकालाई उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय पुनर्विचार गर्न आग्रह गर्दै निजी विद्यालयलाई प्रोत्साहन गर्ने र सामुदायिक विद्यालयलाई कमजोर बनाउने खालका विभेदकारी नीति लागू गर्न नहुनेमा केन्द्र सरकारको समेत ध्यानाकर्षण गराइयो ।
सहभागीहरूले विद्यालयमा स्कुल बस सञ्चालन, व्यवहारिक शिक्षा, नैतिक शिक्षा अनिवार्य तथा शिक्षक सरुवामा पारदर्शिता कायम गर्न माग गरे । अपाङ्गता भएका व्यक्तिका लागि शिक्षा सुनिश्चित गर्न विशेष बजेट र कार्यक्रम ल्याउनुपर्ने तथा वृद्धभत्ता घर–घरमै वितरण गर्ने व्यवस्था गर्न आग्रह गरिएको थियो ।
स्थानीयवासीले खोलामा प्लास्टिक तथा फोहोर फालिँदा वातावरण प्रदूषण बनेको भन्दै सफा र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकारप्रति वडा संवेदनशील हुनुपर्ने बताएका थिए । फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन फोहोर संकलन सदस्यता अनिवार्य गर्नुपर्ने पनि सुझाव दिइयो ।
त्यस्तै, भ्लगर तथा सवारीसाधनका आवाजका कारण ध्वनि प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै टनेल खेतीमा अत्यधिक विषादी प्रयोग भइरहेकाले त्यसलाई समयमै नियन्त्रण गर्नुपर्ने माग गरिएको थियो ।

कार्यक्रममा करिब १० हजार जनसंख्या रहेको वडामा झण्डै ८ हजार रोपनी सार्वजनिक जग्गा रहेको जानकारी प्रस्तुत गर्दै त्यसको संरक्षण, सीमांकन र व्यवस्थापनका लागि तीनवटै तहका सरकारबीच समन्वय गर्नुपर्नेमा जोड दिइयो । वर्षौंदेखि सडकका रूपमा प्रयोग भइरहेका जग्गाको लगत कट्टा गरी नागरिकलाई करको बोझबाट मुक्त गराउनुपर्ने तथा अव्यवस्थित प्लानिङका कारण सार्वजनिक तथा सडक क्षेत्र मिचिएको गुनासो पनि स्थानीयले गरे ।

नगरपालिकालाई योगमैत्री नगर घोषणा गरिसकेको अवस्थामा योग अभ्यासका लागि हल र बजेट व्यवस्थापन गर्नुपर्ने, पुरातात्विक सम्पदा, मठमन्दिर, पाटीपौवा र ढुंगेधाराको संरक्षणका लागि दीर्घकालीन गुरुयोजना ल्याउनुपर्ने सुझाव दिइयो । कृषिका लागि मल व्यवस्थापन, सडक स्तरोन्नति, पुल निर्माण, खेलमैदान तथा फुटसल व्यवस्थापन, निःशुल्क एम्बुलेन्स सेवा, ट्राफिक व्यवस्थापन र इट्टा भट्टाबाट हुने प्रदूषण नियन्त्रणका विषयमा पनि स्थानीयले आवाज उठाएका थिए ।

कार्यक्रममा प्रहरी प्रभाव सुडालका प्रमुख दिपक श्रेष्ठले बालकुमारी–जितपुर सडकमा तीव्र गति र ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरी सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय नागरिकलाई समेत सडक अनुशासन पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि घर–घरमा सिसी क्यामेरा जडान गर्न सुझाव दिए ।
वडा सदस्य प्रल्हाद दुलालले विकास निर्माणमा जनसहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताउँदै फोहोर व्यवस्थापनमा नागरिक स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए । “हामीलाई स्थानीयले घच्घच्याउनुपर्छ, जागरुक बनाइराख्नुपर्छ,” उनले भने ।
अर्का वडा सदस्य हरिगोपाल श्रेष्ठले जनताको मूल्याङ्कन नै जनप्रतिनिधिको उपलब्धि भएको उल्लेख गर्दै विकास निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय अनिवार्य रहेको बताए । अर्की वडा सदस्य अनिता परियारले सार्वजनिक सुनुवाईले जनप्रतिनिधिको ‘आँखा खोल्ने’ काम गर्ने बताउँदै महिला, युवा र जेष्ठ नागरिकलाई आत्मनिर्भर बनाउने खालका व्यवहारिक तालिम अझ विस्तार गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा वडाध्यक्ष जनक खत्रीले निर्वाचनताका गरेका प्रतिबद्धताअनुसार नै कार्यसम्पादन भइरहेको दाबी गरे । उनले शिक्षा, स्वास्थ्य, सडक, फोहोर व्यवस्थापन तथा सामाजिक विकासका कामलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । उनका अनुसार ९ करोड रुपैयाँको लागतमा ताथलीदेखि सुडालसम्म फास्ट ट्र्याक सडक निर्माण भएको छ भने चार वर्षको अवधिमा १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । थप ५ किलोमिटर सडक निर्माण प्रक्रियामा रहेको जानकारी पनि उनले दिए ।
जीतपुर–सुडाल खानेपानी आयोजनामार्फत २२ सय घरपरिवारलाई खानेपानी वितरण भइरहेको उल्लेख गर्दै डिप बोरिङमार्फत पनि पानी आपूर्ति गरिएको उनले जानकारी दिए । बोजेनी ड्यामको पानी भविष्यमा प्रशोधन गरेर खानेपानीका रूपमा वितरण गर्ने योजना रहेको जानकारी दिँदै उनले वडालाई ‘शिक्षाको हब’ बनाउने लक्ष्य रहेको स्पष्ट पारे ।
फोहोर व्यवस्थापनमा अब कडाइ गरिने संकेत गर्दै उनले सार्वजनिक जग्गा अतिक्रमण रोक्न कानुनअनुसार कारबाही गरिने बताए । ‘सचेतनाले मात्र नपुग्ने अवस्था आएको छ, अब कारबाहीको डण्डा चलाउनुपर्ने बाध्यता बनेको छ,’ उनले भने ।
योगका लागि सार्वजनिक हल निर्माण तथा बजेट व्यवस्थापन गर्ने, मापदण्डविपरीत पूर्वाधार निर्माणमा कारबाही गर्ने तथा सार्वजनिक भवनमा क्रमशः सिसी क्यामेरा जडान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...