तामाङ सांस्कृतिक चेतनामा नयाँ कृति: ‘ताम्बा ह्रिमठिम’ सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ पुस । ताम्बा-तामाङ समुदायको सांस्कृतिक मुख्य धरोहर, इतिहासको संरक्षक, संस्कृतिको संवाहक तथा गीत-सङ्गीतको मूल स्रोत हो । ताम्बा बिना तामाङ समुदायको इतिहास अधूरो रहने र सांस्कृतिक कार्यले पूर्णता नपाउने मान्यता छ । यही अमूल्य परम्परालाई लिपिबद्ध गर्ने उद्देश्यसहित ताम्बा अध्येता पासाङदोर्जे लामा मोक्तानद्वारा लिखित ‘ताम्बा ह्रिमठिम’ पुस्तक सार्वजनिक गरिएको छ ।पुस्तक मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । पुस्तकमा पेङदोर्जे, डम्फु र ताम्बा तहसम्बन्धी विविध विषयको चर्चा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मानवशास्त्री डा. मुक्तसिंह थोकरले तामाङको शास्त्रीय भाषा, पुर्खाले रचना गरेका दर्शन र विचार पुस्तकमा समेटिएको उल्लेख गर्दै भविष्यमा बोन्बो र लामासम्बन्धी विषय पनि जोडिनुपर्ने सुझाव दिए । उनले भने, ‘तामाङ समुदायको विवाह संस्कारका महत्वपूर्ण अध्यायमध्ये ‘चारतम’ संस्कार र विभिन्न संस्कारमा गाइने गीतबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।’ पुस्तक समीक्षक नवीन मोक्तानका अनुसार पुस्तकले मुख्य गरी तीन विषयमा जोड दिएको छ । विवाहमा गरिने चारतम, साङसेरगेम नगरी कुनै कर्मकाण्ड नगर्नु, तथा ह्रुइका विषयलाई लिपिबद्ध रूपमा प्रस्तुत गर्नु । ह्रुइमा गरिने विवाह संस्कार पुस्तकमा कडा रूपमा प्रस्तुत गरिएको भए पनि ताम्बाका गीत धेरैका लागि बुझ्न गाह्रो हुनसक्ने उनको टिप्पणी थियो ।

समीक्षक तथा लेखक रवीन्द्र तामाङले पुस्तकमा ताम्बा के हो, यसको प्रक्रिया र किन आवश्यक छ ? भन्ने विषय गीतसहित जस्टिफिकेसनका साथ प्रस्तुत गरिएको बताए । थर सृष्टिसम्बन्धी विषय पनि समेटिएको भए अझ राम्रो हुने र कतिपय विषय तथ्यपरक हुनुपर्ने उनको सुझाव थियो ।
भाषाविद् अमृत योञ्जनले १६ लाखभन्दा बढी तामाङ जनसंख्या रहेको भनिए पनि वर्षमा दुईवटा पनि तामाङ भाषाका पुस्तक नआउने अवस्थाबीच यो पुस्तक प्रकाशन हुनु सुखद भएको बताए । ‘यो पुस्तकले शून्यता चिरेको छ,’ उनले भने, ‘तामाङ समुदायले पुस्तक किन्ने बानी विकास गर्नुपर्छ ।’
राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले ताम्बा तामाङ ह्रिमठिमलाई अटुट रूपमा निरन्तरता दिने एउटा ‘एजेन्सी’ नै भएको उल्लेख गर्दै पासाङ दोर्जे मोक्तानको निरन्तर साधनाको प्रतिफलस्वरूप पुस्तक आएको बताए ।
यसैगरी, तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले चारतम संस्कारमा खस भाषा प्रयोग हुन थालेकाले पुर्खाले नबुझ्ने अवस्था सिर्जना भएको भन्दै ताम्बा परम्परा जोगाउन मोक्तानहरूको योगदान महत्वपूर्ण रहेको बताए ।
लेखक मोक्तान नेपाल तामाङ ताम्बा घेदुङका सङ्घीय अध्यक्ष, ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष तथा ताम्बा सङ्घ नेपालका संस्थापक उपाध्यक्षसमेत हुन् । विगत तीन दशकदेखि खोज, अध्ययन, अनुसन्धान र अभ्यासमा संलग्न मोक्तानले पुस्तान्तरण हुँदै आएको ताम्बा परम्परालाई केही बाध्यता, रहर र विवशताबीच जोगाउँदै आएको आफ्ना अनुभव पुस्तकमा समेटिएको बताए । तामाङ ह्युलका लागि ताम्बा, बोन्बो, लामा र गान्बा अपरिहार्य रहेको उल्लेख गर्दै तीमध्ये ताम्बा संस्थालाई स्थापित र निरन्तरता दिन समाज सञ्चालनमा योगदान पुर्‍याउने उद्देश्यले पुस्तक तयार पारेको उनको भनाइ थियो ।

लेखक मोक्तानले ताम्बाको तहसम्बन्धी सबै विषय समेट्न नसकिए पनि प्रारम्भिक रूपमा पुस्तक ल्याइएको बताए । ‘चावाई बोन, चवाईसिङ्गे लामा र चवाईसिंह’का कारण ताम्बा परम्परा जोगिइरहे पनि अझै स्पष्ट दिशामा अघि बढ्न नसकेको उनको भनाइ थियो । पुस्तक तामाङ समुदायको साझा सम्पत्ति भएकाले समीक्षकहरूको सुझावअनुसार आगामी संस्करणमा थप परिस्कृत गरिने उनले बताए ।
लेखक खोजराज गोलेद्वारा सम्पादित पुस्तक ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो । कार्यक्रममा सम्पादक गोलेले पुस्तक सबै तामाङका लागि उपयोगी रहेको बताए । कमल योञ्जनको आवरण रहेको २२४ पृष्ठको यस पुस्तकको मूल्य ९५० रुपैयाँ तोकिएको छ । कार्यक्रममा ताम्बा सङ्घ नेपालका अध्यक्ष दावावाङ्गेल मोक्तान, साङलाल घिसिङ, पुस्तकको सहयोगीहरु, संचारकर्मी, लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रसुवा बाढी अपडेट : बेत्रावतीमा एक घरमा २४ वटा शव फेला

काठमाडौं, १६ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० स्थित बेत्रावती रहेको एउटै घरमा २४ वटा शव फेला परेको छ।...

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...