काठमाडौं, १ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल ट्रष्ट कार्यालयका तत्कालीन सचिव अर्जुनकुमार कार्कीलाई पक्राउ गरेको छ। ट्रस्टको नाममा दर्ता जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोपमा कार्कीलाई पक्राउ गरेको सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। कार्की सेवा निवृत्त भइसकेका छन्।
यसअघि प्रहरीले कात्तिक २१ गते तत्कालीन सहसचिव लेखबहादुर काकीलाई पक्राउ गरेको थियो। अनुसन्धान हुँदै जाँदा ठगी तथा आपराधिक विश्वासघात कसुरमा अर्जुनकुमार कार्कीको समेत संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरेको हो।
दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता भएको थियो। सिआइबीका अनुसार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने काम भएको हो। बदनियत राखेर ट्रस्टको नाममा रहेको जग्गा तीन वर्ष निर्माण अवधि समेत गरी ३० वर्षका लागि लिजमा दिने निर्णय भएको हो।
ट्रष्टलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरी लिजमा दिएको सिआइबीको अनुसन्धानमा देखिएको हो। गैरकानुनी तरिकाले लाभ लिएर ठगी तथा आपराधिक विश्वास घात गरेको भन्दै सिआइबीले अनुसन्धान थालेको जनाएको छ।







