जर्मनीका चिकित्सकहरुको ख्वप अस्पतालको अवलोकन भ्रमण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ३० कार्तिक। जर्मनीको कोटबस शहरमा अवस्थित लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रोफेसर इखार्ड नागेलको नेतृत्वमा नेपाल भ्रमणमा आएको चिकित्सकहरुको प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालको शनिबार अवलोकन भ्रमण गरेको छ ।  प्रतिनिधिमण्डलले अस्पतालको इमर्जेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, ल्याव सेवा, शल्यक्रिया सेवा, ल्याव सेवा, रेडियोग्राफी सेवा, अक्सिजन उत्पादन केन्द्र लगायतको अभिरुचीपूर्वक अवलोकन तथा अन्तरक्रिया गर्यो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल संचालक समितिका अध्यक्ष सुनिल प्रजापति र उप प्रमुख रजनी जोशीलगायतले प्रतिनिधिमण्डललाई अस्पतालमा स्वागत गरेका छन्। अस्पतालको अवलोकनपछि आयोजना गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव का. प्रेम सुवालले ख्वप अस्पताल जनताको अस्पतालको रुपमा विकास भइरहेको बताए । भक्तपुर नगरपालिकाले स्थानीय जनताको स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राख्ने क्रममा सानो आकारको जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरेको र पछि क्रमशः विकास हुँदै हाल ख्वप अस्पतालको रुपमा विकास भएको उनले प्रष्ट पारे ।

स्वास्थ्य उपचार सेवामा जर्मनी प्रविधिको विकासले नेपाली विरामीहरुले पनि गुणस्तरीय सेवा पाइरहेको उल्लेख गर्दै पार्टी सचिव सुवालले ख्वप अस्पतालसंगको आपसी अन्तरक्रिया र अनुभव आदानप्रदान कार्यले चिकित्सा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । उनले जर्मन प्रतिनिधिमण्डलको नेपालको नेपाल भ्रमण सफल हुने विश्वास व्यक्त गरेका छन् ।

नगर प्रमुख एवम् ख्वप अस्पताल संचालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगरपालिकाले सम्पदा संरक्षणसंगैै शिक्षा र स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए । उनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंद्वारा लिखित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’मा प्रस्तुत गरिएको भक्तपुरको अवधारणालाई साकार पार्ने क्रममा गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले ख्वप अस्पताल अघि बढिरहेको बताएका छन् ।

लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रो. इखार्ड नागेलले ख्वप अस्पतालले प्रदान गरिरहेको सेवाबाट आपूmहरु प्रभावित भएको चर्चा गर्दै लाउसिट्ज विश्वविद्यालय पनि नगरस्तरीय कार्ल थिम क्लिनिकको जगबाट सन् २०२४ मा स्थापना भएको बताए । उनले विश्वविद्यालयले चिकित्सा अभ्यासलाई शिक्षा र अनुसन्धान कार्यसंग एकिकृत गरी उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा जुटिरहेको जानकारी दिए ।
जर्मनी प्रविधिको सिटी स्क्यान मेसिन ख्वप अस्पतालले भित्र्याएकोमा खुशी व्यक्त गर्दै कुलपति नागेलले चिकित्सा प्रविधि हस्तान्तरण र अनुसन्धान कार्यमा दुवै अस्पतालबीच आदानप्रदान गर्न सकिने विश्वास व्यक्त गरे ।
अर्का प्रोफेसर एवम् प्लास्टिक सर्जन जोर्न क्राप्होलले चिकित्सा क्षेत्रमा चुनौतिहरु आइरहने हुँदा चिकित्सा अभ्याससँगै अध्ययन अनुसन्धान कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।जर्मनीका लागि नेपाली राजदुत डा. शाहिल रुपाखेतीले कला-संस्कृति संरक्षण कार्यमा भक्तपुरको प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै जर्मनीमा नेपालको परिचय दिँदा भक्तपुरको शैलीको प्रचार गरिरहेको बताए ।
ख्वप अस्पताल संचालक समितिका सदस्य रविन्द्र ज्याख्व, अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल र बरिष्ठ व्यवस्थापक विश्वजीत प्रजापतिले ख्वप अस्पतालको परिचय र विकास क्रमबारे जानकारी दिए ।
कार्यक्रममा ख्वप अस्पतालको तर्फबाट संचालक समिति उपाध्यक्ष रजनी जोशी, सदस्यहरु योगेन्द्रमान बिजुक्छें र कृष्ण प्रसाद कोजू, अस्पतालका विशेषज्ञ चिकित्सक तथा विभागीय प्रमुखहरु र भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक तथा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाललगायतको पनि उपस्थिति थियो ।

त्यस्तै, जर्मनीको लाउसिट्ज चिकित्सा विश्वविद्यालयको तर्फबाट इमर्जेन्सी मेडिसिन म्युनिखका निर्देशक डा. टिम प्लासबेक, डा. काय क्लोप्फट, डा. जुलियाना वान्जिक र व्यवस्थापक रोमी स्नाइडरको पनि उपस्थिति थियो । कार्यक्रमको सहजीकरण नेपाली कन्सल्ट्यान्ट अर्थोडेन्टिस्ट डा. सितु लाल श्रेष्ठले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...

बागमतीका श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा उपचारमा विशेष सहुलियत दिइने 

मकवानपुर, ३२ असार । बागमती प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील श्रमजीवी पत्रकारलाई प्रादेशिक अस्पतालमा स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत...

मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सम्झौता हुँदै

काठमाडौं, ३२ असार । वर्षौंदेखि मिटरब्याजी (अनुचित लेनदेन) को चक्रव्यूहमा परेर उठिबास भएका विपन्न किसान र मजदुरहरूको सङ्घर्षलाई...

काठमाडौँ महानगरपालिकाका न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान

काठमाडौं, ३२ असार । काठमाडौं महानगरपालिकाले ३९ महिनाको अवधिमा ९० हजार सेवाग्राहीलाई निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्रदान...