भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एकै परिवारको भएको खुल्न आएको छ ।
गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ हर्शचोक बस्ने २४ वर्षीया संस्कृति श्रेष्ठ, २० वर्षीय कृष्ण भन्ने चितलाल श्रेष्ठ र २६ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।
उनीहरू शुक्रबार बिहान १६ जनाको समूहसहित रोटरी क्लबको टोलीमा लाङटाङ गएका थिए ।
चार वर्षदेखि दुबईमा काम गर्दै आएकी सुनिता एक साताअघि मात्रै नेपाल फर्किएकी थिइन् । उनले आफ्ना भाइ र बहिनीलाई घुमाउन लाङटाङ लगेकै क्रममा सो घटना भएको हो । पहिलोपटक सनिता बगिन र उनलाई बचाउन खोज्दा संस्कृति र त्यसपछि भाइ कृष्ण समेत बगाएका जनाएका छन् ।
तीन सन्तान हराएपछि पिता कृष्णबहादुर श्रेष्ठ र आमा सरिता श्रेष्ठ गहिरो शोकमा छन् । श्रेष्ठ दम्पतीका पाँच छोरी र एक छोरा छन् । अहिले हर्षचोक पूरै शोकमग्न बनेको छ ।
उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उनले बताए ।