शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई शुक्रबार बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । दिनभरको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बतायो ।

राजनीति दलहरुले यही संसद्बबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका थिए । तर, जेन-जीद्वारा सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान गर्दै आएकी थिइन् । काठमाडौंका मेयर बालेन शाहले समेत सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद् विघटन भएको बताउँदै आएका थिए ।
त्यसपछि राष्ट्रपति कार्यालयमा बिहीबार राति र शुक्रबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन टुंगिएको थियो । दिउँसो समेत कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था समेत आउनसक्ने चेतावनी दिएका थिए ।
साँझसम्म सरकार नबने उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन संकटकाल लगाउनुपर्ने भन्दै उनले कार्कीसमेतलाई ब्रिफिङ गरेका थिए । त्यसमा राजनीतिक दलका कतिपय शीर्ष नेताहरुले समेत सहमति जनाएका थिए । तर, दोस्रो तहका नेताहरुको भने संकटकालको पक्षमा सहमति थिएन । उनीहरुले त्यस्तो अवस्था आए सडकमा उत्रिने प्रधानसेनापति सिग्देललाई जवाफ दिएका थिए ।

यस्तोमा तीब्र दबाबका बीच जेन-जीको माग अनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको नाम प्रस्ताव गरेका थिए । प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिको सन्देश राष्ट्रपति पौडेलसम्म पुर्‍याएका थिए । त्यसपछि बिहीबार अबेरबाट राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरूसँग परामर्श थालेका थिए ।

त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेन(जी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए । तर, दलका अधिकांश नेताले उनलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्ध गर्नुपर्ने मत राखेका थिए । बिहीबार बेलुकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवास पुगेका थिए । उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि उपस्थित थिए ।

माओवादी नेताहरू शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । राति ११ बजे उनीहरूलाई कार्यालयबाट बोलाइएपछि फरकफरक ठाउँमा रहेका उनीहरुले टेलिफोनमार्फत नै पार्टीको मत राखेका थिए । त्यसक्रममा दलहरुले जेन-जी आन्दोलनको मर्म अनुसार, नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका थिए । तर, त्यसका लागि संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने बाटो खोज्नुपर्ने बताएका थिए । यसैमा कुरा नमिल्दा सरकार गठन प्रक्रिया लम्बिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...