हेरिटेज नेपाल न्यूज

शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

Date:

Share post:

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई शुक्रबार बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । दिनभरको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् ।

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेलले प्रमुख दलका शीर्ष नेताहरुलाई आफूले प्रतिनिधिसभा विघटनको निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी गरेको बताए । अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्रको मस्यौदा गर्ने लगायतका काम भइरहेको स्रोतले बतायो ।

राजनीति दलहरुले यही संसद्बबाट कार्कीलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोज्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका थिए । तर, जेन-जीद्वारा सरकार प्रमुख प्रस्तावित कार्कीले अहिलेको संसद् राखेर बन्ने सरकारको नेतृत्व नगर्ने अडान गर्दै आएकी थिइन् । काठमाडौंका मेयर बालेन शाहले समेत सहमतिका लागि न्यूनतम बटमलाइन नै संसद् विघटन भएको बताउँदै आएका थिए ।
त्यसपछि राष्ट्रपति कार्यालयमा बिहीबार राति र शुक्रबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन टुंगिएको थियो । दिउँसो समेत कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले संकटकाल लगाउनुपर्ने अवस्था समेत आउनसक्ने चेतावनी दिएका थिए ।
साँझसम्म सरकार नबने उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन संकटकाल लगाउनुपर्ने भन्दै उनले कार्कीसमेतलाई ब्रिफिङ गरेका थिए । त्यसमा राजनीतिक दलका कतिपय शीर्ष नेताहरुले समेत सहमति जनाएका थिए । तर, दोस्रो तहका नेताहरुको भने संकटकालको पक्षमा सहमति थिएन । उनीहरुले त्यस्तो अवस्था आए सडकमा उत्रिने प्रधानसेनापति सिग्देललाई जवाफ दिएका थिए ।

यस्तोमा तीब्र दबाबका बीच जेन-जीको माग अनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो । नेपाली सेनाको जंगीअड्डामा बुधबार भएको छलफलपछि जेनजी प्रतिनिधिले अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको नाम प्रस्ताव गरेका थिए । प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिको सन्देश राष्ट्रपति पौडेलसम्म पुर्‍याएका थिए । त्यसपछि बिहीबार अबेरबाट राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरूसँग परामर्श थालेका थिए ।

त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरुले जेन(जी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए । तर, दलका अधिकांश नेताले उनलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्ध गर्नुपर्ने मत राखेका थिए । बिहीबार बेलुकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवास पुगेका थिए । उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि उपस्थित थिए ।

माओवादी नेताहरू शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । राति ११ बजे उनीहरूलाई कार्यालयबाट बोलाइएपछि फरकफरक ठाउँमा रहेका उनीहरुले टेलिफोनमार्फत नै पार्टीको मत राखेका थिए । त्यसक्रममा दलहरुले जेन-जी आन्दोलनको मर्म अनुसार, नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका थिए । तर, त्यसका लागि संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने बाटो खोज्नुपर्ने बताएका थिए । यसैमा कुरा नमिल्दा सरकार गठन प्रक्रिया लम्बिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...