सूर्यविनायक-४ सार्वजनिक सुनुवाइ : ४ वर्षमा १५ करोड रुपैयाँको विकास निर्माण

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ जेठ । सूर्यविनायक नगरपालिका- ४ का वडाध्यक्ष लछुराम न्यौपानेले आफ्नो कार्यकालको विगत चार वर्षमा करिब १४-१५ करोड रुपैयाँ बराबरको विकास निर्माणका काम सम्पन्न भएको बताएका छन् । वडा कार्यालयमा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा न्यौपानेले आफ्नो नेतृत्वमा विगत चार वर्षमा संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहयोगमा यतिकाम गर्न सकेको दाबी गरेका छन् । अध्यक्ष न्यौपानेको ५ वर्षे कार्यकालको यो पाँचौं वर्ष हो ।

राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा ८१ जना स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रह्यो । कार्यक्रममा स्थानीयले विकास निर्माण, खानेपानी, सडक, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा नगरस्तरीय योजनाका विषयमा जिज्ञासा, गुनासा र सुझाव प्रस्तुत गरेका थिए ।

‘जनताको करले विकासको गति बढेको छ’
वडा अध्यक्ष न्यौपानेले स्थानीयबासीको कर र सहयोगकै कारण वडाले विकासको गति लिएको बताउँदै सडक पिच, ढलान, ब्लक बिछ्याउने, सडक फराकिलो बनाउने लगायतका काम तीव्र रूपमा अघि बढाइएको बताए । ‘जनताको अपेक्षा र आफूले चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर काम गरिरहेको छु,’ उनले भने । उनका अनुसार चालु आर्थिक वर्षमा वडाको बजेट सिलिङ २ करोड ६० लाख रुपैयाँ रहेको छ । वडामा साना तथा ठूला दुवै प्रकारका योजना सञ्चालन भइरहेका छन् ।

हनुमान टोलदेखि खड्का गाउँसम्म विकासका योजना
अध्यक्ष न्यौपानेले गाम्चास्थित भिजन ब्याङ्क्वेट क्षेत्र र हनुमान टोलमा ८० लाख रुपैयाँको लागतमा ढलान कार्य सम्पन्न भएको जानकारी दिए । त्यस्तै खड्का गाउँदेखि तामाङ गाउँ जाने सडकमा ५० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण गरिएको छ । उनका अनुसार अनन्तलिङ्गेश्वर परिसरमा ४५ लाख रुपैयाँको विकास निर्माण कार्य सम्पन्न भएको छ भने शाही गणेश मन्दिर, चर्खण्डी र हिञ्चोक भैरव क्षेत्रको विकासमा पनि बजेट विनियोजन गरिएको छ । चित्रपुर आधारभूत विद्यालयमा गत वर्ष ३६ लाख रुपैयाँको काम सम्पन्न भएको र हाल ५६ लाख रुपैयाँ बराबरको थप निर्माण कार्य भइरहेको उनले जानकारी दिए।

नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याइने
नगर अस्पताल वडा बाहिर लगिएको विषयमा स्थानीयले चिन्ता व्यक्त गरिरहेका बेला अध्यक्ष न्यौपानेले सूर्यविनायकको नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याउने तयारी भइरहेको बताए । ‘हालको नगर अस्पताल ट्रमा सेन्टरमा परिणत भएपछि नगर अस्पताल यही क्षेत्रमा पुनः सञ्चालन गरिनेछ,’ उनले स्पष्ट पारे ।

अनन्तलिङ्गेश्वरलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य
वडाको दीर्घकालीन योजनाबारे जानकारी दिँदै अध्यक्ष न्यौपानेले खोकुण्डोल–सिरुटार सडक स्तरोन्नति, पातलेटार–फुटसल मार्ग निर्माण तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए। ढल प्रशोधन केन्द्रसँग जोड्ने उद्देश्यले तीन वटा डीपीआर तयार भइरहेको जानकारी दिँदै उनले अनन्तलिङ्गेश्वर क्षेत्रलाई कास्कीको प्रसिद्ध पुङ्दीकोट जस्तै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए । यसका लागि पिकनिक स्पट निर्माणका लागि समेत बजेट माग गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

स्मार्ट सिटी योजना स्थगित गराउन पहल
प्रश्नोत्तर सत्रमा स्थानीयवासीले २०७२ सालदेखि स्मार्ट सिटी योजनाको नाममा घर निर्माण तथा जग्गा किनबेचमा रोक लगाएर दुःख दिइएको गुनासो गरेका थिए । त्यसको जवाफमा अध्यक्ष न्यौपानेले स्मार्ट सिटीको अवधारणा तत्कालका लागि स्थगित गराउन आफूले विभिन्न तहमा पहल गरेको जानकारी दिए ।

वडाले १ करोड ८९ लाख राजश्व संकलन
कार्यक्रममा वडा सचिव तोरण रानाले वडाले प्रदान गरिरहेको सेवाबारे जानकारी दिँदै हालसम्म ७६ वटा घटना दर्ता, १० वटा मृत्यु दर्ता तथा १ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए । उनका अनुसार वडामा हाल १० वटा योजना कार्यान्वयनमा रहेका छन् भने ८ वटा योजना सम्झौताको प्रक्रियामा छन् ।

महिलाहरू तालिममा नआउने गुनासो
वडा सदस्य तथा कार्यपालिका सदस्य तारा सापकोटाले महिलालाई लक्षित गरी विभिन्न सीपमूलक तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गरिए पनि अपेक्षाअनुसार सहभागिता नदेखिएको गुनासो गरिन् । ‘हामीले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेका छौं, तर सहभागी बन्न महिलाहरूको चासो न्यून देखिएको छ,’ उनले भनिन् ।

पूर्वाधार प्रमुखको प्रस्तुति चर्चित
नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर जनक न्यौपानेले सहभागीका प्रश्नको विस्तृत जवाफ दिएका थिए । उनले वडामा सञ्चालित योजनाहरूको प्रगति, नगरस्तरीय पूर्वाधार आयोजना तथा भावी योजनाबारे तथ्यसहित जानकारी गराएका थिए । उनको आत्मविश्वासपूर्ण र स्पष्ट प्रस्तुति कार्यक्रमका सहभागीबीच विशेष रूपमा प्रशंसित बनेको थियो ।
कार्यक्रममा सहभागी १६ जनाले विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए । उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष लछुराम न्यौपाने, पूर्वाधार प्रमुख जनक न्यौपाने, दधिकोट बृहत् सहरी खानेपानी आयोजनाका अध्यक्ष कृष्णहरि खड्का तथा वडा सदस्य तारा सापकोटाले दिएका थिए । कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्य प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रमको सभापतित्व राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यले गरेका थिए भने सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई गृहजिल्ला फर्काइने, सरकारले भन्यो : पालिकामा सम्पर्क गर्नू

काठमाडौं, ०६ साउन । सरकारले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएका सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढाएको छ ।...

माइतीघर डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यबाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं, ०६ साउन । काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं, ०६ साउन । व्यवसायी शंकर अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरमा फरार रहेका उनलाई पक्राउ...

वडाबासीको ‘सुख-दु:खको साथ’ मा सूर्यविनायक-८

भक्तपुर, ०६ साउन । सूर्यविनायक नगरपालिका-८ ले वडाबासीका सुख र दुःखका क्षणमा साथ दिने उद्देश्यसहित ‘सुख-दुःखको साथ’ कार्यक्रम...